विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०८१/८२ मा ९ हजार ४ सय ६१ वटा मुद्दा दर्ता भई ६ हजार १ सय ६९ वटा फर्छौट भएको जनाएको छ ।
यसैगरी यही २०८२ वैशाखदेखि साउन १५ गतेसम्म २ हजार ३ सय वटा मुद्दा दर्ता भई ७ सय ७८ वटा फछ्यौट भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा ९ हजार ३ सय ८७ मुद्दा दर्ता भई ५ हजार ६९५ वटा फछ्र्यौट भएको थियो ।
गत आर्थिक वर्ष २०८१/८२ मा अदालतबाट कैद फैसलाको सजाय भएका ३ हजार ५ सय १३ जना फरार अभियुक्तलाई पक्राउ गरी १४ करोड ७७ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ४७.३४ प्रतिशत बढी फरार अभियुक्र पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरी नायब महानिरीक्षक कार्कीले प्रदेशभित्रको शान्ति सुरक्षासहित सुव्यवस्था एवं अमनचयन कायम गर्न सक्दो प्रयास गरिरहेको र उल्लेखनीय सफलता प्राप्त भएको जानकारी दिए।
कोशी प्रदेशमा गत आर्थिक वर्ष भन्सार चोरी निकासीबाट २० करोड ४ लाख २० हजार रुपैयाँ, अवैध रकमबाट ६३ लाख ३५ हजार रुपैयाँ, हुण्डी कारोबारबाट १ करोड ५ लाख ३३ हजार रुपैयाँ, प्राकृतिक सम्पदा नदीजन्य पदार्थबाट २३ लाख ७३ हजार रुपैयाँ, काठ बरामदबाट ३९ लाख रुपैयाँ, फैसला कार्यान्वयबाट १४ करोड ७७ लाख ५४ हजार रुपैयाँ र ट्राफिक जरिवनाबाट १६ करोड २९ लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
भन्सार चोरी निकासी तथा पैठारीमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ६१.९५ प्रतिशत र अवैध रकम बरामदतर्फ १९२ प्रतिशतले वृद्धि भएको प्रदेश प्रहरी कार्यालयले स्पष्ट गरेको छ ।
यसैगरी, कोशी प्रदेशमा कूल ५ हजार ६२६ सवारी दुर्घटना भई ४ सय १८ जनाको मृत्यु र ९ हजार २ सय ४९ जना घाइते भएको नायब प्रहरी महानिरीक्षक कार्कीले जानकारी दिए। चेतनामूलक कार्यक्रमसहित प्रहरीको सक्रिय अनुगमनका कारण कोशी प्रदेशमा अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतले आत्महत्याको दर घटेको पनि प्रहरीले जनाएको छ ।












प्रतिक्रिया