गण्डकी । होटल सङ्घ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवालासमक्ष अपिल गरेको छ ।
सङ्घका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले आज विज्ञप्तिमा जारी गर्दै नेपालको सीमावर्ती तराई क्षेत्रबाट एकैदिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्नेलगायत जोखिम बढेको उल्लेख गरेका छन् ।
पर्यटकलाई आराम गर्दै वातानुकूल हुँदै यात्रा गर्ने वातावरणका लागि सम्बन्धित ट्राभल एजेन्सी, टूर अपरेटर र सरोकारवालासमक्ष सङ्घले अपिल गरेको छ ।
“आफ्नै सवारी लिएर सानो समूहमा यात्रा गर्ने पर्यटकलाई समेत यस्तो जोखिमपूर्ण यात्रा नगराउन हामी सुझाव दिन चाहन्छौँ । यस्तो जोखिमपूर्ण प्रवृत्तिलाई न्यूनीकरण गर्न सरकारीस्तरबाट समेत आवश्यक पहल अगाडि बढाउन हाम्रो अनुरोध छ । यसले पर्यटकको सुरक्षाका अतिरिक्त पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन पनि मद्दत पुग्ने छ”, विज्ञप्तिमा भनिएको छ ।
पर्यटनको राजधानी पोखरा हुँदै दैनिक हजारौँ पर्यटक विभिन्न ठाउँमा आवतजावत गर्ने गरेको उल्लेख गर्दै विज्ञप्तिमा पर्यटनको सन्दर्भमा मानव स्वास्थ्य र सुरक्षाको पाटो महत्त्वपूर्ण हुने विषय पनि स्मरण गराइएको छ ।
पछिल्ला दिनमा नेपालको दक्षिण सीमावर्ती क्षेत्र र तराईबाट पोखरा हुँदै एकैदिनमा मुक्तिनाथ पुगेर पोखरा फर्कने पर्यटकहरूको ठूलै सङ्ख्या भेटिन थालेको विषय उल्लेख गर्दै सङ्घले “होटल सङ्घ नेपाल, गण्डकी यस्तो प्रवृत्तिलाई प्रोत्साहन गरिनुहुन्न भन्ने पक्षमा रहेको छ । समुद्र सतहबाट १ सय मिटर हाराहारीको उचाइ रहेको तराई क्षेत्रबाट ८ सय मिटर उचाइको पोखरा उक्लिएर उही दिन ३ हजार ७१० मिटर उचाइको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यका लागि निकै नकारात्मक कुरा हो”, भनेको छ ।
होचो उचाइबाट एकैदिन एकतर्फी साढे ३ सय किलोमिटरभन्दा लामो अनि उचाइतिरको यात्रा पर्यटकका लागि अत्यन्त खतरनाक धपेडीपूर्ण मात्र नभई बर्खायामको रात्रि कुँदाई अन्यन्त जोखिमयुक्त पनि हुनसक्ने विज्ञिप्तमा भनिएको छ । यस्तो कार्यले एकातिर पर्यटकलाई लेक लागेर ज्यानै जानसक्ने जोखिम बढाएको छभने अर्कातिर पर्यटन क्षेत्रप्रति अन्तरराष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने खतरातर्फ पनि सङ्घले सचेत गराएको छ ।
तथ्याङ्कानुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ नेपालीसहित ८ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीटजरल्याण्डका १र१ जना नागरिक रहेको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले बाहिर ल्याएको छ ।
यस्तै मुस्ताङ जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उक्त जिल्लामा मात्र २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेमा ८ जना भारतीय, २ नेपाली र १ जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउने पनि भारतीय पर्यटककै सङ्ख्या बढी रहन गएको छ । केही दिनअघि काठमाडौँबाट हेलिकप्टरमा सिधै सगरमाथा क्षेत्र पुगेका एक अष्टे«लियाली पर्यटकलाई लेक लागेपछि काठमाडौँ फर्काइएको पनि सङ्घले उल्लेख गरेको छ ।रासस












प्रतिक्रिया