सिकार आरक्ष ढोरपाटनमा घोडा सफारी, दैनिक ३ हजार आम्दानी


बागलुङ । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदो छ । घोडापालन गर्दै आएका स्थानीयको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउनै ठिक्क छ ।

ढोरपाटनमा पछिल्लो समय पर्यटकको चाप बढेपछि घोडा व्यवसायी दङ्ग छन् । ढोरपाटन उपत्यकामा फुलेका अनेकथरी फुलमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकको सङ्ख्या बढेपछि घोडा व्यवसायीको आम्दानी बढेको छ ।

घोडा पालेरै घर खर्च धान्दै आउनुभएका ढोरपाटन नगरपालिका–९ निवासी अनिस विकले पर्यटक बढेपछि दिनमै ३ हजार रुपैयाँ भन्दा माथि आम्दानी गर्दै आएको बताए । “पहिले त मुस्किलले दिनमा १ हजार रुपैयाँ हुन्थ्यो, अहिले ३ हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ, ढोरपाटनमा फुलेका बुकी फुलमा घोडा चढ्ने बढेका छन् ।”

उनका अनुसार ढोरपाटनमा पछिल्लो समय पर्यटक उल्लेख्य रुपमा बढेका छन् । “ढोरपाटनमा आएका पर्यटकहरु घोडा नचढ्ने कुरै हुँदैन, घोडा चढेको फोटो र टिकटक मैले नै खिचिदन्छु, पर्यटकहरु खुसी भए अझ धेरै रकम खन्छिन्”, विकले भने, “१ पटक घोडामा चढेर फोटो तथा भिडियो बनाएको २०० लिन्छु, ढोर बराही दर्शन गरेको ५०० रुपैयाँ र बुकी पुगेको ३ हजारसम्म लिने गरेको छु, सबैभन्दा बढी पर्यटक घोडा चढेर ढोरपाटन उपत्यकाको फूलमा फोटो तथा भिडियो बनाउन रुचाउँछन् ।”

घोडाको खानपान घटाउदा घर खर्च गरेर १÷२ हजार दैनिक बचत हुने गरेको छ । यहाँका स्थानीयले घारवास र घोडा सफारीबाट मुख्य आम्दानी लिने गरेका छन् । वर्खायाम भए पनि यहाँको बुकी फूल हेर्न कै लागि बुटवल, काठमाडौँ, पोखरा, बागलुङ बजारसहितका छिमेकी पालिकाहरुबाट ढोरपाटनमा पर्यटक आउने गरेका छन् ।

असारदेखि भदौसम्म यस क्षेत्रमा विभिन्न प्रजातिका वनफूल अर्थात् बुकी फूल फुल्ने गर्छन । मङ्सिर–पुसमा बाक्लो हिमपात हुने हुँदा कतिपय पर्यटक हिउँ खेल्नकै लागि आउँछन् । यहाँ आउने पर्यटक घोडा नचडी फर्किएको पाइँदैन । पर्यटकहरू घोडा चढेरै बुकी पाटनसम्म जाने गर्दा घोडाधनीहरु उत्साहित रहेका छन् ।

घोडापालनमा भने चुनौती रहेपछि पछिल्लो समय आम्दानी बढेको घोडाधनी मैतराम विकको भनाइ छ । २ घोडा पाल्नु भएका मैतरामको घर खर्च चलाउने माध्यम घोडा नै हो । उनले बुकीपाटनमा पर्यटकका सामग्री पु¥याउन आफ्ना घोडा प्रयोग गर्दै आएको बताए ।

“हिमपात हुने ३ महिना घोडालाई दाना खुवाएर पाल्नुपर्दछ, अघिपछि पर्यटकहरु आउछन्, हिमपातमा घोडा हिडाउन मिल्दैन, घरमै पाल्दा कठिन हुन्छ, अहिले घोडामै पर्यटकलाई बुकीपाटन लैजाने व्यवस्था मिलाइएको छ, ढोरपाटन उपत्यकाबाट बुकी पु¥याएको ३ हजारदेखि ४ हजार रुपैयाँसम्म दिन्छन्”, विकले भने ।
वर्खायाम भए पनि ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले घरवास र घोडा सफारी व्यवसाय फष्टाउँदै आएको स्थानीय घरवास सञ्चालक रामबहादुर घर्तीले जानकारी दिए । सिकार आरक्ष क्षेत्रमा गत आर्थिक वर्षमा २३ हजार पर्यटक भित्रिएका थिए । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा हजारले बढी हो ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार  ०८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।