अवलोकनकर्ताहरुको अप्रत्याशित उपस्थिती पश्चात् नाइमा नेपाल मोबिलिटी एक्स्पो सोमबार पनि खुल्ने


काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा अपेक्षा गरे भन्दा बढि दर्शकको आगमनले प्रर्दशनी स्थलमा रौनक छाएको छ । ५ दिन खुल्ने भनिएको एक्स्पोमा अवलोकनकर्ताहरुको मागलाई सम्बोधन गर्न गाह्रो भएपछि नाइमाले एकदिन प्रदर्शन अवधि थप गरेको छ ।

आफूलाई मनपर्ने सवारीसाधनहरु अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ्ग गर्ने, साथै खरिद गर्नेहरुको घुइचो रहेको प्रदर्शनी शनिबारको मुसलधारे पानीमा पनि निर्वाध संचालन भयो । अरु दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिहरुले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाएका छन् ।

एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधरणका साथै वरिष्ठ कलाकार, कुटनितिक नियोगका कर्मचारीहरु, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरु, व्यापारी साथीहरु लगाएत समाजका सबै तहका व्यक्तिहरुले उपस्थिति जनाएका छन् ।
प्रदर्शनीको पहिलो दिन १५ हजार, दोश्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार र शनिबार २१ हजार ५०० अवलोकनकर्ताहरुले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सहभागिता जनाएका छन् ।

स्थापनाको केहि महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमा अवलोकनकर्ताहरुको अपार माया र समर्थन प्राप्त गर्न सफल नाइमा, आगामी दिनहरूमा पनि नेपालको मोबिलिटी क्षेत्रमा अझ ठूलो योगदान पुर्याउन प्रतिबद्ध छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् ।

श्रावण २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला रहने भनिएको प्रदर्शनी अब २६ गते सोमबार सम्म खुल्ने भएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।