ठेक्कामा रोपाइँ : नयाँ अवधारणाका साथ बाझा खेत हरियालीमा परिणत


बागलुङ । काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन् ।

गाउँको १ हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी ३ हजार २६६ मा ठेक्का लिएर उनिहरूले रोपाइँको चाजोपाजो मिलाएका हुन् । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उनिहरूले गरिदिन्छन्, तर त्यसबापत अग्रिम रुपमा रकम उपब्ध गराउनुपर्छ ।

घर्ती दम्पतीले गत असारमा १८९ रोपनीमा रोपाइँ गरेर ६ लाख १७ हजार ४०० आर्जन मात्र गरेनन् १० जनालाई रोजगारी पनि दिए ।

किसान अमरबहादुरले पनि सोही महिना १८६ रोपनी खेत रोपेर ६ लाख ७ हजार ६०० कमाए । उनले पनि १० जना खेतालालाई १ महिना रोजगारीको व्यवस्था गरे ।

नयाँ अवधारणाका साथ बाझा खेत हरियालीमा परिणत भएपछि वडा कार्यालयले उनिहरूलाई सम्मान गरेको छ । साथै खनजोत गर्न उनिहरूलाई वडाले एउटा मिनी टिलर उपहार दिने घोषणा गरेको छ ।

बुधबार वडा कार्यालयमा पौरखी किसानलाई सम्मान गर्दै वडाध्यक्ष प्रेम लामिछानेले भने, “प्याकेजमा खेत रोप्ने योजना अनुकरणीय छ । जग्गाधनीले खेताला खोज्ने, उनीहरूलाई खाना, पानी, गोरु, ट्याक्टरको व्यवस्थाको झन्झट परेन । रकम भुक्तानी भए खेत रोपियो ।”रासस

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार  ०७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।