छायाँदेवी कम्प्लेक्सको जग्गाले पायो ‘क्लिन चिट’, गूठी भन्छः कुनै विवाद छैन


राजधानीको ठमेलमा सञ्चालनमा आएको छायाँदेवी कम्प्लेक्स (छायाँ सेन्टर) ले ‘क्लिन चिट’ पाएको छ ।

जग्गा विवादमा परेको ३० वर्षपछि छायाँदेवी कम्प्लेक्सले क्लिन चिट पाएको हो । कम्प्लेक्स निर्माण भएको जग्गामा कुनै विवाद नरहेको व्यहोरा सिंहसार्थ वाहु गरुड भगवान गुठीले स्पष्ट पारेको छ । गुठीले छायाँदेवी कम्प्लेक्सलाई २०७७ असोज २७ गते यस्तो पत्र काट्दै क्लिन चीट दिएको हो ।

गुठी संस्थानबाट २०४७ साल चैत १४ गते उक्त जग्गाका कित्ताहरू अम्बिका राणा तथा शंकर प्रसाद शाहको नाममा गुठी रैतानी भई जग्गा धनी पूर्जा बनेको थियो । गुठी संस्थानले २०४७ माघ १८ गते उक्त जग्गाका कित्ताहरू राणा र शाहको नाममा रैतानी गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमाथि संस्थान आफैंले गरेको निर्णयलाई बदर गर्दै २०४७ चैत १४ मा पुनः अर्को निर्णय गरेको थियो । उक्त निर्णयका विरुद्ध अम्बिका राणाले पुनरावेदन अदालत, पाटनमा मुद्दा हालेकी थिइन् ।

पुनरावेदन अदालत पाटनले गुठी संस्थानको पहिलो निर्णयलाई कायम राखि गुठी संस्थानबाट परेको पछिल्लो निर्णय बदर गरेको थियो । उक्त मुद्दाको २०५३ साल जेठ २५ मा बदर भएको थियो ।

पुनरावेदन अदालतले पछिल्लो पटक गरेको निर्णय बदर गरी पाउँ भनि गुठीका गुठीयार थकालीहरूले राणा विरुद्ध काठमाडौं जिल्ला अदालतमा छुट्टै मुद्दा दायरा गरेका थिए । जिल्ला न्यायाधीसको रोहवरमा दुई पक्षबीच २०६२ साल असार १६ गते मिलापत्र भएको थियो । उक्त समय पछि आजका मितिसम्म जग्गामा कुनै विवाद नरहेको सिंहसार्थ वाहु गरुड भगवान गुठीले स्पष्ट पारेको छ । गुठीले छायाँदेवी कम्प्लेक्सलाई २०७७ असोज २७ गते यस्तो व्यहोराको पत्र काट्दै ‘क्लिन चिट’ दिएको हो ।

गुठीले पत्र काट्दै भनेको छ ‘अम्बिका राणा विरुद्ध काठमाडौं जिल्ला अदालतमा छुट्टै मुद्दा दायरा गरी चल्दाको अवस्थामा मिति २०६२ असार १६ गते न्यायाधीशको रोहवरमा राणा र सिंहसार्थ वाहु गरुड भगवान गुठीका गुठीयार थकालीहरूबीच मिलापत्र गरी सो बमोजिम कार्यान्वयन भएपश्चात हालसम्म कुनै किसिमको विवाद नरहेको व्यहोरा अनुरोध गर्दछौ ।’

१५ रोपनी क्षेत्रफलमा फैलिएको छायाँ सेन्टरमा रहेको पाँचतारे होटल ‘अलफ्ट ब्राण्डमा सञ्चालन भइरहेको छ । पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र ठमेलमा अवस्थित अलफ्ट होटलको नामले परिचित १४ तल्लामा सञ्चालित होटलमा १७५ वटा डिलक्स कोठा छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।