सुरक्षित लगानीको लागि उत्कृष्ट अवसर, ‘एनआइसी एशिया डिबेञ्चर २०८३-८४’ को बिक्री खुला

0
Shares

एनआइसी एशिया बैंकले साउन ६ गते सोमबारदेखि ‘एनआइसी एशिया डिबेञ्चर २०८३/८४’ बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ४ अर्ब ४० करोड बराबरको ४४ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो ।

वार्षिक १०.२५ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्रमा अर्धवार्षिक रूपमा व्याज भुक्तानी गरिने बैंकले जनाएको छ । ऋणपत्रको अवधि ७ वर्ष छ ।

बैंकले कुल निष्काशन गरेको ४ अर्ब ४० करोड ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू. २ अर्ब ६४ करोड व्यक्तिगत तवरमार्फत र ४० प्रतिशत अर्थात १ अर्ब ७६ करोड सर्वसाधारण लगानीकर्ताको लागि बिक्री गर्ने जानकारी दिएको छ ।

ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीद गर्न चाहनेले साउन ६ देखि छिटोमा ९ गतेसम्म र ढिलोमा भदौ ३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

एनआइसी एशियाको यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिंग्स नेपाल लिमीटेडबाट कम जोखिम रहेको जनाउने केयर एनपी ए ग्रेडिङ प्रदान गरेको छ । अर्को क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले इक्रा एनपी आइआर ए माइनसको ग्रेडिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाउने संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि एक महत्वपूर्ण माइलस्टोन हुने बैंकको विश्वास छ ।

मुलुकको हालको दीर्घकालीन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालीन रुपमा उच्चतम् प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानीको लागि विरलै प्राप्त हुने यो उत्कृष्ट अवसर भएको बैंको भनाई छ ।

बैंकले मुलुकभरका २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दे आएको छ । बैंकको कुल निक्षेप करिब १८१ अर्ब र कर्जा लगानी १५१ अर्ब पुगेको छ । १७ लाखभन्दा बढी ग्राहक बैंकसँग आबद्ध छन् ।