कर कार्यालयमा एउटा अनि बैंकमा अर्को वित्तीय विवरण बुझाउने व्यवसायीलाई राजश्वको लगाम !

0
Shares

आन्तरिक राजस्व विभागले कर कार्यालयमा एउटा र बैंकहरुमा अर्को वित्तीय विवरण बुझाउने परिपाटीको अन्त्य गर्ने भएको छ ।

जसका लागि विभागले व्यवसायीहरुले कर प्रशासनमा पेश गरेको वित्तीय विवरण र बैंक तथा वित्तीय संस्थामा पेश गरेको वित्तीय विवरणहरुको सूचना आदन प्रदान गर्ने स्वचालित प्रणाली विकास गरेको छ ।

यस बारे जानकारी गराउन विभागले २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सोमबार छलफलमा डाकेको छ ।

व्यवसायीहरुले कर कार्यालय र बैंकमा छुट्टाछुटै विवरण पठाउँदा वित्तीय पारदर्शीता नभएको भन्दै गत आर्थिक वर्षको बजेटमा एउटै विवरण बुझाउनुपर्ने व्यवस्था गरिने उल्लेख गरिएको थियो । अघिल्लो आर्थिक वर्षको बजेटमै भएको उक्त व्यवस्थालाई आन्तरिक राजस्व विभागले कार्यान्वयनमा ल्याउने भएको हो ।

विभागले नेपाल राष्ट्र बैंकलाई सबै बैंकका सीइओलाई उपस्थित गराउन आग्रह गरेपछि राष्ट्र बैंकको निर्देशन अनुसार सबै बैंकका प्रमुख कार्यकारीहरु छलफलमा सहभागी हुँदैछन् ।