काठमाडौँ । मनसुनी वर्षाका कारण साढे तीन महिनादेखि रोकिएको हट एयर बेलुनहरू फेरि पोखराको आकाशमा उड्ने भएका छन् । जुन, जुलाई र अगस्टमा बन्द रहेको बेलुन उडान सेप्टेम्बर १५ देखि पुनः सुरु हुने बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।
बाडेका अनुसार यस पटक तीन वटा बेलुनबाट सेवा दिने तयारी पूरा भएको छ । कम्पनीले १८० साइजका ८ सिट, २१० साइजका १२ सिट र नयाँ २६० साइजका १६ सिटका बेलुनबाट पुनः स्थगित उडान सुरु गर्न लागेको हो ।
बिहान ५ बजेदेखि ९ बजे र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा उडान हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार तीन वर्षदेखि माथिका उमेर समूहका व्यक्ति बेलुनमा चढ्न सक्नेछन् । पोखराको पामेबाट सुरु भएर इन्द्रपुर लेकसम्मको ४ किलोमिटर दूरीमा उडान हुने अध्यक्ष बाडेको भनाइ छ ।
करीब ९ हजार फिट उचाइमा उड्ने यी बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खला, पूरै फेवाताल, पुम्दिकोट महादेव, सराङकोट र उड्दै गरेका प्याराग्लाइडरहरूसहित पोखरा उपत्यकाको ३६० डिग्री मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।












प्रतिक्रिया