काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त भएका छन् ।
गत भाद्र ३० गते बसेको इसेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागु हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले आगामी चार वर्षको सेवाकाल आजको मितिबाट सम्हालेका हुन् ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गरेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी छन् । डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहककेन्द्रित नवप्रवर्तन विकासका क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गर्नुकासाथै, टोलीको नेतृत्व तथा संस्थागत रूपान्तरणलाई प्रभावकारी रूपमा अघि बढाउन उनीसँग उल्लेखनीय अनुभव रहेको छ ।
बैंकिङ तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेका शर्माको नेतृत्वले इसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । इसेवा सञ्चालक समितिले शर्माको अनुभव, नेतृत्व क्षमता तथा डिजिटल वित्तीय सेवासम्बन्धी विज्ञता कम्पनीको आगामी रणनीतिक प्राथमिकतालाई प्रभावकारी रूपमा अघि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
इसेवाले विगतदेखि हासिल गर्दै आएको उपलब्धिलाई निरन्तरता दिँदै बदलिँदो ग्राहक आवश्यकता र डिजिटल वित्तीय सेवाको विकाससँगै कम्पनीलाई थप सुदृढ बनाउन शर्माको नेतृत्व महत्वपूर्ण हुने विश्वास इसेवा सञ्चालक समितिले लिएको छ ।









