युद्ध अन्त्यका लागि रूसलाई दबाब दिन ट्रम्पको आह्वान, बेइजिङद्वारा अस्वीकार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर युरोपेली मुलुकहरूसँग चीनमाथि आर्थिक दबाब सिर्जना गर्न आग्रह गरेका छन् ।

बेइजिङले चीनमाथि आर्थिक दबाब सिर्जना गर्ने आह्वानको ‘कडा विरोध’ गर्ने शुक्रबार जनाएको छ।

चीनले कहिल्यै पनि रुसको युद्धको निन्दा गरेको छैन र न त रूसलाई युक्रेनबाट उसका सेना फिर्ता बोलाउन आह्वान गरेको छ । युक्रेनका धेरै सहयोगीहरूले बेइजिङले मस्कोलाई युक्रेन युद्धमा समर्थन प्रदान गरेको बुझाइ छ।

चीनले आफू तटस्थ पार्टी भएको बताउँदै आएको छ र नियमित रूपमा युद्ध अन्त्यका लागि आह्वान गर्दै आएको छ भने पश्चिमी देशहरूले युक्रेनलाई हतियार दिएर द्वन्द्व लम्ब्याउन खोजेको आरोप पनि लगाउँदै आएको छ ।

“बिहीबार पेरिसमा भेला भएका युरोपेली नेताहरूसँग भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले उनीहरूलाई चीनमाथि दबाब दिन आग्रह गरेको र युरोपले युद्धका लागि आर्थिक सहयोग गर्ने रुसी तेल खरिद बन्द गर्नुपर्ने बताएको थियो,” ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग बताए ।

ट्रम्पको टिप्पणीबारे शुक्रबार सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले बेइजिङ ‘न त यो (युक्रेन) सङ्कटको निर्माता हो न त यसको पक्षधर नै हो’ भनेको छ ।

प्रवक्ता गुओ जियाकुनले एक पत्रकार सम्मेलनमा भने, “हामी चीनलाई यस मामिलामा निरन्तर तान्ने अभ्यासको दृढतापूर्वक विरोध गर्दछौं र चीनमाथि तथाकथित आर्थिक दबाब थोपरिएमा कडा विरोध गर्दछौँ।”

भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा रुसको युक्रेन आक्रमणको आदेश दिनुभन्दा केही समयअघि मस्को र बेइजिङले ‘नो लिमिट पार्टनरसिप’ को घोषणा गरेका थिए।

दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको उपलक्ष्यमा बुधबार आयोजित विशाल सैन्य परेडमा चीनका राष्ट्रपति सी जिनपिङ, रूसी नेता पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन सँगै उभिएका थिए ।

यसलाई बेइजिङले ‘शान्तिप्रिय देश र जनतासँग मिलेर इतिहासलाई स्मरण गर्ने’ उद्देश्यले ‘विदेशी पाहुनाहरुलाई निमन्त्रणा गरेको’ बताएको छ ।

पुटिनको नेतृत्वमा रहेको वर्तमान् रुसलाई चीनले ‘शान्तिप्रिय देश’ मान्छ कि मान्दैन भन्ने प्रश्न शुक्रबार एक पत्रकारले दुई पटक सोध्दा प्रवक्ता गुओले सोझै जवाफ दिन अस्वीकार गरे ।

चिनियाँ राष्ट्रपति सीसँग बेइजिङमा आयोजित विशाल सैन्य प्रदर्शनमा भाग लिएका पुटिनले युक्रेनमा आफ्नो सेनाको प्रगतिको प्रशंसा गर्दै रुसी सेना ‘सबै मोर्चामा’ अघि बढिरहेको बताएको थियो ।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार  १६ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।