बुढीगण्डकी आयोजना निर्माणको काम रोकिँदैन : अध्यक्ष दाहाल


गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्यत् आयोजना निर्माणको काम नरोकिने बताएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग जागरण अभियान अन्तरर्गत गोरखाको पालुङटार नगरपालिका–५, ठाँटी पोखरीमा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष दाहालले भने, “स्रोत सुनिश्चित गरेर बुढीगण्डकी आयोजना निर्माणको प्रक्रिया अघि बढ्दै छ, हालसम्म झण्डै ५० अर्ब रुपैयाँ जति खर्च भइसकेको छ ।”

आफू प्रधानमन्त्री रहेका बेला बुढीगण्डकी आयोजना निर्माणका लागि वालुवाटारमा पटकपटक बहस र छलफल गरेको स्मरण गर्दै अध्यक्ष दाहालले उक्त आयोजना निर्माणले गोरखाको मात्र नभएर सिङ्गो राष्ट्रको अर्थतन्त्रमा प्रभाव पार्ने उल्लेख गरे ।

अध्यक्ष दाहालले गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लीमा कृषि औद्योगिक क्षेत्र निर्माण गर्न चीन सरकारसँग सैद्धान्तिक सहमति भएको बताए । “चीनको एउटा टोलीले नेपाल आएर अध्ययनको काम समेत गरिसकेको छ,” उनले भने, “पालुङटारमा नै कृषि औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ ।”

एमाले नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसक्दा जनतामा निरासा बढेको अध्यक्ष दाहालको आरोप थियो ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार  १२ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।