जेन–जी प्रदर्शनमा घाइतेको उद्धारमा खटियो काठमाडौँ महानगरको टोली


काठमाडौँ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार नगर प्रहरीको टोलीले ती अस्पतालमा पुगेर घाइतेहरूको उद्धार र आवश्यक सहयोग गरिरहेको छ ।
काठमाडौँ महानगरपालिकाले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा सघाउने जनाएको छ ।

सोमबार काठमाडौँमा प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।
धेरैजसो घाइतेहरूलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल र महाकालस्थित ट्रमा सेन्टरमा लगिएको छ ।

अस्पतालमा घाइतेहरूको संख्या बढेपछि बेड अभावका कारण उपचारमा समस्या भएको ती अस्पतालले जानकारी दिएका छन् ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार नगर प्रहरीको टोलीले ती अस्पतालमा पुगेर घाइतेहरूको उद्धार र आवश्यक सहयोग गरिरहेको छ ।

घाइतेहरूलाई सिभिल र ट्रमामा उपचारका लागि ठाउँ नपुगेको अवस्थामा अन्य अस्पतालमा लैजान नगर प्रहरी खटिने उनले बताए । अहिले पनि प्रदर्शनकारीले माइतीघर, बानेश्वर, तिनकुने क्षेत्रमा प्रदर्शन जारी राखेका छन् ।

प्रशासनले बानेश्वर, मध्यबानेश्वर माइतीघर, शंखमुख क्षेत्रमा कुर्फ्यू आदेश जारी गरेपनि जेन–जी युवाहरूले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार  १६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।