सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी


सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका जिल्ला पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ ।

आन्दोलनकारीको प्रदर्शनका क्रममा आज बिहानदेखि मलङ्गवामा भइरहेको प्रदर्शनका क्रममा दुवै पार्टीको कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । आज बिहानदेखि प्रदर्शन जारी रहेको मलङ्गवामा पार्टी कार्यालयहरुमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले मलङ्गवा नगरपालिका–३ मा रहेको एमालेको जिल्ला पार्टी कार्यालय र मलङ्गवा–८ मा रहेको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।

आगजनीका क्रममा पार्टी कार्यालयभित्र रहेका सोफा, टेबल, कुर्सीलगायतका सामग्री जलाइएको र तोडफोड गरिएको छ । स्थिति नियन्त्रणमा लिन अहिले मलङ्गवा क्षेत्रमा उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारी कार्यालयहरुमा समेत विशेष सुरक्षा व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए । सर्लाहीमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको उनले बताए ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १४ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।