नवलपुर निषेधाज्ञा जारी : क्षतिको विवरण सङ्कलन गरिँदै


नवलपरासी । जेन–जी प्रदर्शनका क्रममा मंगल नवलपरासी (बर्दघाट–सुस्ता)मा रहेका विभिन्न राजनीतिक दल र तिनमा आवद्ध नेताहरुको घरमा तोडफोड र आगजनी गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालकाअनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालयमा आगजनी भएको छ । त्यस्तै यी राजनीतिक दलका नेताहरुको घरमा समेत आगजनी र तोडफोड भएको उनले जानकारी दिए । “जिल्लामा सरकारी कार्यालयभन्दा पनि बढी राजनीतिक पार्टी र उनीहरुको घरमा तोडफोड र आगजनी भएको छ” उनले भने, “त्यस्तै कावासोती नगरपालिका, गैँडाकोट नगरपालिकामा समेत आगजनी र तोडफोड भएको छ ।”

नवलपुरको गैँडाकोटस्थित मौलाकाली केबलकारको तल्लो स्टेशनमा समेत प्रदर्शनकारीले आगजनी गरेका नेपालको भनाइ छ । “जिल्लामा भएका क्षतिहरुको विवरण हामीले संकलन गर्ने क्रम जारी छ” उनले भने, “अहिले जिल्ला अवस्थामा नियन्त्रणमा छ ।” जिल्लामा निषेधाज्ञा जारी रहेको उनले बताए ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार  १४ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।