प्रधानमन्त्री कार्कीका सामु अवसरभन्दा चुनौती धेरै


काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार शितल निवासभित्र शपथ लिइरहंदा बाहिर जेन जी आन्दोलनमा भएको आगजनीको धुँवा उडीरहेको छ।

३ दिनको शुन्यता अनि अनेक संसयकाबीच राष्ट्रपती रामचन्द्र पौडेलले उनलाई सपथ ग्रहण गराउदै छन । सिंहदरवारमा लागेको आगो ननिभिकनैै उनले आफ्नो कार्यभार सम्हाल्दैछिन । अर्थात् उनी ‘तातो’ सिंहदरवार भित्र प्रधानमन्त्रीका रुपमा प्रवेश गर्दै छिन् । सिंहदरबारमा ‘आगोको राप’ भित्र उनी औपचारिक रुपमा प्रवेश गर्दै गर्दा उनलाई ठुलो चुनौतिको तातोले उत्तिकै छुनेछ ।

आफ्ना नाती पुस्ताको भरोसा जितेर उनी प्रधानमन्त्री भएकी छन् । नाती पुस्ता मात्र नभई सबै नेपालीको चित्त बुझाउने ठूलो चुनौती उनलाई छ ।

त्यसैगरी शपथ लिए लगतै देशभरी जलेको सरकारी संरचना पुन निर्माणको अर्को चुनाती पनि उनीमाथि छ । देशभरी आगो लगाएर ‘कालो’ भएका प्रहरी चौकीको पुन निर्माण गरेर ‘हरियो’ बनाउने दायित्व पनि कार्कीको काँधमा आएको छ ।

जेन जी पुस्ताले मुख्य मागका रुपमा अगाडि सारेको भ्रष्टाचारको अन्त्यका लागि उनलाई अर्को चुनौती थपिने छ । जसरी जेन जी पुस्ताले सिधै भ्रष्टाचारको नियन्त्रण गर्ने कल्पना गरेका छन्, त्यसलाई कानुनको दायराबाट सम्बोधन गर्ने उनको अर्को चुनाती हो । किन कि भावना र कानुन एउटै कुरा होइन ।

उनी आफैँ लामो समय न्याय क्षेत्रमा बिताएकी अनुभवी व्यक्तित्व हुन् । धेरैले उनीबाट कानुनी राजको आशा गरेका छन् । तर जेन जी पुस्ताले कानुनको बाटो हरेको देखिँदैन । उनीहरु सिधै नतिजाको अपेक्षा गर्छन् । यो दुई बिचमा तालमेल मिलाउँदै अघि बढ्नुपर्ने कार्कीलाई चुनौती छ ।

त्यसैगरी आन्दोलनको ‘म्यान्डेट’ भनेको नै भ्रष्टाचारीहरुको सम्पति छानबिन गर्ने र दोषीहरुलाई कारबाही गर्ने हो । कानुनको बाटोबाट जानुपर्दा जेन जी पुस्ताले सिधै भने जस्तो नहुन सक्छ अर्थात अपेक्षा र व्यवहारिकता अलग अलग कुरा हुन् ।

उनीसँग एकातिर जेन जी पुस्ताको भावना छ भने अर्कोतिर कानुनी राजको अपेक्षा छ । त्यसैले यसबेला संसदमा भएका दलहरुले उनलाई चुपचाप स्वीकार गरेका हुन् ।

लोकतान्त्रिक गणतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रा र तोकेको मितिमा निर्वाचन उनको अर्को चुनौती हो । जेन जी पुस्ताले भने जस्तो केही दललाई प्रतिबन्ध लगाउनु पर्छ भन्ने बिषय माथिका आधारभूत मान्यता विपरीत हुनेछ । दल र जेन जीबिचको आधारभूत मान्यतालाई समन्वय गर्नुपनि उनका लागि सानो चुनौती छैन ।

हिजोसम्म सत्ताको बागडोर हातमा लिएर हालीमुहाली गरेका सबै राजनितिक दलहरुलाई जेन जी ‘मुभमेन्ट’ ले अचानक पत्तासाफ बनाइदिएको छ । यस्तो अवस्थामा सहज रुपमा निर्वाचन गराउन नदिने काम यिनै राजनितिक दलहरुले गर्ने भएकाले कार्कीलाई आफ्नो अभिभारा पूरा गर्न फलामको चिउरा चपाउनु पर्ने अवस्था बन्नेछ ।

त्यसैगरी जेन जी आन्दोलनमा भएको नरसंहारको छानबिन गरी दोषीलाई कानुन बमोजिम सजाय दिलाउने चुनौती पनि उनलाई छ ।
त्यसैगरी जेन जी पुस्ताले उठाएको सार्वजनिक सेवा प्रवाह दलहरुकोभन्दा उत्कृष्ट बनाउनु पनि उनी सामू ठुलो चुनौती हुनेछ । किनकि नेपालको कर्मचारीतन्त्र लामो समयदेखि दलीय प्रभावमा छ, यसको ब्रिद्ध खरो उत्रिँदा भोग्नुपर्ने असहयोग उनको अर्को चुनौती हो ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार  २० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।