३ वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते


बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिकै आज दिउँसो ३ वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना यात्रु घाइते भएका छन् ।

चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना६ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको र सो ट्रक अनियन्त्रित भई काठमाडौँबाट बारातर्फ आउँदै गरेको ना७ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करलाई ठक्कर दिई दुर्घटना हुँदा बस र ट्रकमा सवार गरी ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते सबैको उद्धार गरी उपचारको लागि हेटौँडास्थित हेटौँडा अस्पताल र सिएमसी चुरेहिल अस्पताल हेटौँडामा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।