संघीय अर्थ मन्त्री खनाललाई मोरङ उद्योग व्यापार संघमा स्वागत गरी छलफल


काठमाडौँ । मोरङ उद्योग व्यापार संघले संघीय अर्थ मन्त्री रामेश्वर प्रसाद खनाललाई संघमा स्वागत गरी भेटघाट तथा छलफल गरेको छ ।

कार्यक्रममा संघका अध्यक्ष अनुपम राठीले स्वागत मन्तव्य दिँदै संघीय अर्थ मन्त्री समक्ष विद्यमान अवस्थामा उद्योग व्यवसाय क्षेत्रको संरक्षण तथा मुलुकको अर्थतन्त्रको विकासका विषयहरुमा संघको धारणा र सुझावहरु प्रस्तुत गरेका थिए । सो क्रममा अध्यक्ष राठीले मुलुकको विद्यमान समस्याहरुलाई तत्कालिन, मध्यकालिन र दीर्घकालिन नीतिहरु अवलम्बन गर्नु पर्ने सुझाव दिएका थिए ।

तत्कालिक कदमहरु स्वरुप अध्यक्ष राठीले भारतको जीएसटी दरहरु अनुरुप नेपालका आयात दरहरु परिमार्जन गर्नु पर्ने भन्दै संघद्वारा तयार पारिएको करिब ५० वस्तुहरुका नेपाल र भारतको कर प्रणालीको तुलनात्मक तालिका प्रस्तुत गरेका थिए ।
साथै, अध्यक्ष राठीले दीर्घकालिन कदमहरु अन्तरगत सरकारले ऊर्जा, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा लगानी बृद्धि गर्नु पर्ने, राजस्व केन्द्रित परियोजनाहरुमा बढि लगानी गर्नु पर्ने, लगानी भएका परियोजनाहरुको कार्य समय मै सम्पन्न गर्ने नीति लिनु पर्ने लगायतका सुझावहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघ, कोशीका अध्यक्ष पवन कुमार सारडा, संघका पूर्व अध्यक्ष सुरेश कुमार शर्मा लगायतले पनि आ–आफ्ना धारणा प्रकट गरेका थिए ।

मुख्यमन्त्री रामेश्वर खनालले जेनजी पुस्ताले देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्न आन्दोलन गरेकोमा उनीहरुको सकारात्मक माग अनुसार सरकारी प्रणालीलाई भ्रष्टाचारमुक्त बनाउँदै निजी क्षेत्रमा पनि सुधारात्मक कार्य गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएका थिए । साथै, उनले कर प्रशासनलाई पारदर्शी र सरल बनाउन, लगानी आकर्षित गर्न र आर्थिक विकासलाई गति दिन सरकार निरन्तर प्रयत्नशील रहेको प्रष्ट पार्दै संघबाट प्रस्तुत भएका सुझावहरु समाधान गर्न तथा निजी क्षेत्रसँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल सहित नेपाल उद्योग वाणिज्य महासंघ कोशी, नेपाल उद्योग परिसंघ कोशी, नेपाल उद्योग परिसंघ, मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघका पदाधिकारी र कार्यसमिति सदस्यहरु, पूर्व अध्यक्षहरु सहित अर्थ मन्त्रालयका सहसचिव, भन्सार विभागका महानिर्देशक, मोरङका प्रमुख जिल्ला अधिकारी, विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत, आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत, विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, महिला उद्यमीहरु, युुवा उद्यमीहरु, उद्योगी÷व्यवसायीहरु, सञ्चारकर्मीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार  १३ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।