काठमाडौं । पछिल्लो समय सामुदायिक विद्यालय रित्तिन थालेका छन् । सहरी क्षेत्रका निजी विद्यालय प्रतिको आकर्षणले विद्यालय रित्तिँदै गएका हुन् ।
भौतिक पूर्वाधारसँगै अन्य सेवा सुविधाको अभावका कारण विद्यालयमा विद्यार्थी अभाव भएको पाइएको छ ।
सामुदायिक शिक्षामा दक्ष जनशक्तिको पनि अभाव भएकोले विद्यार्थी घटेका हुन् । गाउँमा जनसंख्या नै कम भएकोले स्वतः विद्यार्थीहरूको संख्या घटेको स्थानीय बताउँछन् ।
रामेछाप र ओखलढुंगाको सिमानामा रहेको श्री हिम गंगा माध्यामिक विद्यालयको कक्षा ५ सम्म मुस्किलले २५ जना विद्यार्थी नियमित अध्ययन गर्छन् ।
विद्यालयमा कक्षा १ देखि १२ कक्षासम्म सञ्चालन हुन्छ । विगत ५ वर्ष अगाडि उक्त विद्यालयमा एक हजार बढी विद्यार्थी थिए । विद्यालयलाई भौतिक सेवा सुविधि प्रविधिमैत्री बनाइएको भएतापनि शिक्षक, विद्यार्थी र अभिभावकको समन्वयको अभावमा विद्यार्थीको संख्या वर्षेनी घट्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाज सेवी निलकण्ठ ढकाल बताउँछन् ।
व्यवस्थापनको नियमित बैठक बसेर गरेका निर्णयहरू प्रशासनले कार्यान्वयन गर्न नसक्ने भएको हुनाले पनि विद्यार्थीको संख्यामा कमी आएको उनको भनाइ छ ।
रामेछाप नगरपालिका भित्र ५३ वटा सामुदायिक विद्यालय छन् । ती मध्ये १३ वटा मावि छन् । जसमध्ये ५० प्रतिशत विद्यालयले १०० जना विद्यार्थी लिएर चलाइरहेको उनले बताए ।
यस पालिकामा नमुना विद्यालयको रूपमा श्री हिम गंगा माध्यामिक विद्यालय रहेको बताउँदै उनले भने, ‘यस विद्यालयमा नियमित अध्ययन गर्ने थोरै भएतापनि कक्षा १२ सम्म ३८० विद्यार्थी छन् भने १ देखि ५ कक्षासम्म ७० जना विद्यार्थी छन् ।’
नीति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कम विद्यार्थी भएका विद्यालयहरूलाई मर्ज गर्ने नीति अघि सारेको थियो । तर, शून्य विद्यार्थी भएका विद्यालयहरू मात्र मर्जरमा गएका छन् ।
मन्त्रालयको सोही नीति बमोजिम रामेछाप नगरपालिका –३ भित्र अहिलेसम्म दुई वटा विद्यालय मर्ज भएको र फलस्वरूप २ वटा मर्जिङ प्रक्रियामा गएको उनले बताए ।
साँघुटारको यो विद्यालयमा कक्षा ९ देखि १२ सम्म भेटेनरी कक्षा पनि सञ्चालनमा छ । तर, कोटा अनुसार विद्यार्थी संख्या पुगेको छैन । यी मात्र होइन रामेछापका अन्य ८ वटामा पनि अवस्था त्यस्तै छ ।
समयअनुसार रूपान्तरण हुन नसकेका कारण सामुदायिक विद्यालय प्रति अभिभावकको रुचि पनि कम हुँदै गएको छ ।
देशभरिको सबैभन्दा कम जनसंख्या भएको जिल्ला रामेछाप भएर पनि रामेछापका विद्यालयमा विद्यार्थीको संख्या कम भएको अध्यक्ष ढकालले बताए ।
विद्यालयका सबै कक्षा कोठाहरूमा सिसि क्यामेरा र अन्य प्रविधिमैत्री भवन भएतापनि दक्ष जनशक्तिको समुचित प्रयोग गर्न नसक्नु, शैक्षिक संयन्त्रहरूले राम्रोसँग काम गर्न नसक्नु, भएका जनशक्तिहरुमा सरकारी मनोवृत्ति हुनु नै विद्यालयको मुख्य समस्या रहेको उनको भनाइ छ ।
यस्तै, कर्मचारीहरुमा ‘राजाको काम कहिले जाला घाम’ जस्तो मनोवृत्ति हाबी हुँदा पनि विद्यार्थीको संख्या पहिलाको तुलनामा घटेको उनी बताउँछन् ।
अभिभावकले आफ्नो बालबालिकाको शिक्षा प्रति चासो नदिँदा पनि रामेछापका विद्यालयमा विद्यार्थी घटेको उनी बताउँछन् । नहुनुले, जनसंख्या पलायन हुनु स्थानीय तहमा नै रोजगारीको अवस्था सिर्जना नुहुँदा अन्य ठाउँमा रोजगार गर्न जानुपर्ने बाध्यता छ उनले भने,‘ आमा बा रोजगारमा गएको ठाउँमा नै बालबालिका जान्छन् । गाउँमा स्वास्थ्यको पहुँच टाढा छ, यातायातको समस्या छ । मान्छे गाउँमा बस्नै रुचाउँदैनन् । त्यसैले पनि यस्तो समस्या देखा परेको हो ।’
घट्दै सामुदायिक विद्यालयको संख्या
आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार देशभरि सञ्चालित ३५ हजार ४ सय ४७ विद्यालयमध्ये ७३ प्रतिशत अर्थात् २५ हजार ८ सय ७६ सामुदायिक छन् । २०८०/८१ मा भने मुलुकभरि ३५ हजार ८ सय ७६ विद्यालय सञ्चालित थिए । जसमध्ये ७४.१ प्रतिशत अर्थात् २६ हजार ५ सय ८४ सामुदायिक विद्यालय थिए । यो तथ्यांकले दुई आर्थिक वर्षको अन्तरमा सामुदायिक विद्यालयको संख्या घटेको देखाउँछ । यसैगरी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या पनि घट्दै गएको तथ्यांक छ । नेपालमा हाल २५ हजार ८ सय ७६ सामुदायिक विद्यालय सञ्चालित छन् । ती विद्यालयहरूमा आधाभन्दा बढीमा एक सय भन्दा कम विद्यार्थी छन् ।
यस्तै, १५ हजार २ सय ७३ विद्यालयमा एक सयभन्दा कम संख्यामा विद्यार्थी छन् ।
देशभरि पाँच सय देखि एक हजार विद्यार्थी भएका एक हजार ६ सय ३६ वटा र एक हजारदेखि १५ सयसम्म विद्यार्थी भएका ४ सय ४९ वटा सामुदायिक विद्यालय छन् । त्यस्तै २ हजारभन्दा बढी विद्यार्थी भएको सामुदायिक विद्यालय सयवटा मात्र छन् । सबै प्रकारका विद्यालयमा २ लाख ७८ हजार ५ सय ८५ जना शिक्षक छन् ।
दुई शैक्षिक सत्रको विद्यार्थी र शिक्षकको अवस्था
शैक्षिक सत्र २०८१ मा शिक्षकको संख्या २ लाख ७९ हजार ५ सय ८५ रहेको छ । जसमध्ये ४२.६ प्रतिशत महिला र ५७.४ प्रतिशत पुरुष शिक्षक रहेका छन् ।
कक्षा (१–१२) सम्मका विद्यार्थी संख्यालाई आधार मान्दा सामुदायिक विद्यालयमा प्रति विद्यालय विद्यार्थी संख्या १७० रहेकोमा संस्थागत विद्यालयमा २९१ रहेको छ ।
सामुदायिक विद्यालयमा प्रति शिक्षक विद्यार्थी संख्या २४ रहेको छ । सबै प्रकारका विद्यालयमा कार्यरत कुल शिक्षक संख्यामा सबैभन्दा उच्च लैंगिक समता सूचकांक आधारभूत तह (कक्षा १–५) मा १.२ रहेको छ भने सबैभन्दा न्यून लैंगिक समता सूचकांक माध्यमिक तह (कक्षा ११–१२) मा ०.२ रहेको छ ।
शैक्षिक सत्र २०८१ मा सामुदायिक तथा संस्थागत विद्यालय (कक्षा १–१२) मा अध्ययनरत कुल विद्यार्थीमध्ये छात्र ५१.९ प्रतिशत र छात्रा ४८.१ प्रतिशत रहेको छ ।
शैक्षिक सत्र २०८० मा विद्यालय तहमा अध्ययनरत विद्यार्थीको संख्या (कक्षा १–१२) ७१ लाख ४३ हजार २ सय ६२ रहेकोमा शैक्षिक सत्र २०८१ मा १.९ प्रतिशतले न्यून भएको छ । २०८१ मा ७० लाख १० हजार ८ सय ८ रहेको छ ।
शैक्षिक सत्र २०८० मा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार कक्षा १० को टिकाउ दर र विद्यालय उमेर समूहको जनसंख्यामा आएको कमीले विद्यार्थी संख्या घटेको अनुमान गरेको छ ।
कुल विद्यार्थीमध्ये आधारभूत तह (कक्षा १–५) मा ४९.४ प्रतिशत, आधारभूत तह (कक्षा ६–८) मा २५.८ प्रतिशत, माध्यामिक तह (कक्षा ९–१०) मा १३.९ प्रतिशत र माध्यामिक तह (कक्षा ११–१२) मा ९.५ प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।
शैक्षिक सत्र २०८१ मा भर्ना भएका कुल विद्यार्थीमध्ये छात्रा ४८.१ प्रतिशत र छात्र ५१.९ प्रतिशत रहेका छन् ।
मन्त्रालयका अनुसार शैक्षिक सत्र २०८१ मा ६६.२ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालय र ३३.८ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययनरत छन् ।
शैक्षिक सत्र २०८० मा ६९.९ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालय र ३०.१ प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययनरत थिए । कुल विद्यालयमध्ये ७८.० प्रतिशत सामुदायिक विद्यालय रहेका छन् ।












प्रतिक्रिया