शनिबार कुन जिल्लामा कति भयो वर्षा ?


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले पनि सो क्षेत्रमा भारी वर्षा भइरहेको जानकारी दिए ।  उनका अनुसार पर्सामा २८८ मिलिमिटर वर्षा भएको छ । यो शनिबार राति ८ः३० बजेको अध्यावधिक विवरण हो ।

पछिल्लो २४ घण्टाको तथ्यंक विष्लेषण गर्दा रौतहट र त्यसआससापका जिल्लाहरुमा अन्य क्षेत्रको तुलनामा निक्कै भारी वर्षा भइरहेको हो । बारामा २१४, सिन्धुलीमा २२०, सर्लाहीमा २२३, मकवानपुरमा १६७ मिलिमिटर वर्षा भएको छ ।

ललितपुरमा पनि भारी वर्षा भइरहेको छ । ललितपुरमा पछिल्लो २४ घण्टामा १५१ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १३५ मिलिमिटर र भक्तपुरमा १११ मिलिमिटर वर्षा भएको छ । चितवनमा ११५ मिलिमिटर, महोत्तरीमा ११३ मिलिमिटर, धनुषामा ११२ मिलिमिटर, रामेछापमा १०० मिलिमिटर वर्षा भएको छ । ५० देखि १०० मिलिमिटरको बीचमा वर्षा हुने जिल्लाहरु भने दर्जनौँ रहेका छन् ।

अहिले वंगालको खाडीबाट आएको मनसुनी वायु सक्रिय रहेको जनाउँदै विभागले आउँदो २४ घण्टामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र कोशी प्रदेश,बागमती प्रदेश, मधेश प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको अनुमान सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार  ११ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।