गण्डकी । ‘सडकआश्रित मानवरहित नेपाल’ घोषणाको लक्ष्यसहित मानवता प्रवद्र्धन महाभियान सञ्चालन गरिरहेको मानवसेवा आश्रमका भवन निर्माणमा बजेट अभाव भएको छ ।
विसं २०७५ चैतदेखि निर्माण सुरु गरिएको कास्की र विसं २०७७ देखि निर्माण थालिएको बागलुङस्थित आश्रमको भवन निर्माण अझै सकिएको छैन ।
कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा बनिरहेको भवनको बाहिरी संरचना तयार भए पनि शौचालय, पर्खाल, फर्निचर, रङरोगन, पलम्बिङ आदिको काम बाँकी रहेको आश्रमका केन्द्रीय सदस्य सदिस पुनले बताए। “लागत योजनाअनुसार काम सक्न अझै रु एक करोड बजेट अपुग छ”, उनले भने, “आश्रम निर्माणमा तीनै तहका सरकार र दाताहरूले आर्थिक सहयोग गर्नुभएको छ ।”
दुई वर्षअघि भवन निर्माणका लागि पोखरा महानगरपालिकाले ७१ लाख रुपैयाँ उपलब्ध गराएको थियो । सोही वर्ष आश्रमले सञ्चालन गरेको महायज्ञबाट ३ करोड रुपैयाँ बढी आर्थिक सङ्कलन भएको केन्द्रीय सदस्य पुनले बताए। ५ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने दाताको नाममा कोठाको नामाकरण गरिने भएपछि २० भन्दा बढी त्यस्ता सहयोगीहरू जुटेको उनको भनाइ छ । १० करोड रुपैयाँको लागतमा उक्त भवन बन्न लागेको केन्द्रीय सदस्य पुनले बताए।
चालु आवमा पोखरा महानगरपालिकाले ३५ लाख रुपैयाँ बजेट छुट्टाए पनि ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण बजेट प्राप्त हुने नहुने अन्योल देखिएको उनको भनाइ छ । आश्रमको हेम्जा र छोरेपाटन गरी कास्कीमा दुईवटा सेवाकेन्द्र छन् । छोरेपाटन सेवाकेन्द्रमा महिला मात्र आश्रित छन् । सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र जीवनरक्षामा आश्रम क्रियाशील छ ।
आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर, सडकआश्रित मानवहरूको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ । सुविधायुक्त भवन बनेपछि आश्रमको सेवामा सहजता थपिने केन्द्रीय सदस्य पुनले बताए। भवन निर्माणमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरलगायत सरकारी निकाय, सङ्घसंस्था र दाताहरूको हातेमालो रहेको उनको भनाइ छ ।
बजेट अभावमा बागलुङको आश्रममा पनि भवन निर्माण कार्य रोकिएको उक्त आश्रमका संयोजक विपना तामाङले जानकारी दिइन्। १२ करोड ७५ लाख रुपैयाँको लागत योजनासहित उक्त आश्रमको भवन निर्माण सुरु गरिएको थियो । “भवनलगायतका संरचना निर्माणमा थप ५ करोड बजेट लाग्ने अनुमान गरिएको छ”, उनले भनीन्, “यस वर्ष स्रोत जुटाउने कुरामा चुनौती थपिएको छ, सङ्घ सरकारले दिने भनेको बजेट कटौती हुने सम्भावना छ ।” भवन निर्माणमा अहिलेसम्म झण्डै ५ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।
प्रदेश सरकारलगायत अन्य सरकारी निकायबाट चालु आवमा बजेट विनियोजन नभएको संयोजक तामाङले बताए। आगामी चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि बजेट अभावकै कारण तोकिएको समयमा भवन बन्ने अवस्था नरहेको उनको भनाइ छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष निर्मल श्रेष्ठले भवनको ६० प्रतिशत भौतिक प्रगति भएको बताए। “भवन निर्माणका लागि बाँकी स्रोत जुटाउन आगामी कात्तिकमा महायज्ञ लगाउने तयारीमा छौँ”, उनले भने ।
बागलुङको आश्रम निर्माणमा प्रदेश सरकार, बागलुङ नगरपालिकासहितका स्थानीय तहलगायत विभिन्न सङ्घसंस्था र दाताहरूको सहयोग रहेको अध्यक्ष श्रेष्ठले बताए। अहिले बागलुङ बजारको अस्थायी संरचनाबाट आश्रम चलिरहेको छ । साँघुरो ठाउँबाट आश्रम सञ्चालन गर्नुपर्दा व्यवस्थापनमा जटिलता रहेको आश्रमका संयोजक तामाङले बताए।
परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेकाहरूको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियन्ता तथा स्वयंसेवी युवाहरूको पहलमा विसं २०७२ मा बागलुङमा आश्रम खोलिएको थियो । आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ ।
अहिलेसम्म सयौँ सडक मानवलाई उद्धार गरिसकिएको र कैयनको परिवारसँग पुर्नमिलन भएको सो आश्रमका संयोजक तामाङले बताए। बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिएपछि २ वर्षअघि आश्रमको भवन निर्माण सुरु भएको थियो । तीनतले उक्त भवन पनि दुई सय क्षमताको रहने संयोजक तामाङले बताए। उक्त भवनमा योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष रहने जनाइएको छ ।










प्रतिक्रिया