१० अर्ब ९५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले कुल १० अर्ब ९५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

बोर्डले ६ अर्ब १८ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ९९ करोड ४७ लाख रुपैयाँ बराबरको साधारण सेयर गरी कुल १० अर्ब ९५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक गरेको हो ।

यस्तै सो अवधिमा कुल १७ अर्ब रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। १२ अर्ब ७८ करोड रुपैयाँ बराबरको साधारण सेयर, रु.१ अर्ब ८३ करोड बराबरको बोनस सेयर, १ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ गरी १७ अर्ब रुपैयाँको धितोपत्र सूचिकृत भएका छन् ।

भदौ मसान्तमा धितोपत्र बजार पँुजीकरण ४४ खर्ब ६७ अर्ब ३० करोड कायम भएको छ । २०८१ भदौमसान्तमा बजार पुँजीकरण ४१ खर्ब ०३ अर्ब ६२ करोड रहेको थियो । २०८१ भदौमसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७१.८८ प्रतिशत रहेकोमा २०८२ भदौमा ७३.१५ प्रतिशत रहेको छ ।

दुई महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७६ पुगेको छ । कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन भने ९४ जलविद्युत्कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । २०८१ भदौमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.९ प्रतिशत रहेको छ ।
त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ११.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ भदौ मसान्तमा सूचीकृत ८ अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ७७ अर्ब ९७ करोड रहेको छ ।

 

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार  १२ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।