गत साता घटेको बजार यो साता के होला ?


काठमाडौँ । गत साता उतारचढावपूर्ण बनेको सेयर बजारमा आगामी साता भने क्रमशः सुधार देखिन सक्ने जानकारहरूले बताएका छन् ।

बजारमा लगानीकर्ताको मनोविज्ञान र आत्मविश्वास कमजोर रहे पनि पछिल्ला नीतिगत सुधार तथा बजारमा देखिन थालेको सकारात्मक गतिविधिले विस्तारै लगानीकर्ता फर्किन सक्ने उनीहरूको भनाइ छ ।

गत साता मंगलबारदेखि बिहीबारसम्म कारोबार भएको बजारमा पहिलो दिन नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको थियो । तर, त्यसको भोलिपल्ट बुधबार बजारमा ३६.२५ अंकको उच्च गिरावट आएपछि नेप्से २६१८.०३ विन्दुमा झरेको थियो । साताको अन्तिम कारोबार दिन बिहीबार भने बजारमा ११.७७ अंकको सुधार आएर नेप्से २६२९.८१ विन्दुमा पुगेको थियो ।

यसरी मंगलबारको सामान्य वृद्धि र बिहीबारको सुधारका बाबजुद बुधबार आएको ठूलो गिरावटका कारण समग्रमा गत साता बजार दबाबमा रह्यो । यद्यपि, साताको अन्तिम कारोबार दिन बजार पुनः सकारात्मक बनेकाले आगामी दिनमा सुधारको आधार तयार हुन सक्ने सेयर बजारका जानकार छोटेलाल रौनियारको भनाइ छ ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । मंगलबार कारोबार रकम ७ अर्ब ५ करोड रुपैयाँभन्दा बढी रहेकोमा बुधबार ६ अर्ब ३५ करोड रुपैयाँमा झरेको थियो । यसले बजारमा कारोबार गतिविधि केही कमजोर देखिए पनि पछिल्लो दिनमा पुनः सकारात्मक संकेत देखिन थालेको रौनियारको बुझाई छ ।

उनका अनुसार लामो समयदेखि बजारमा रहेको अन्योल र लगानीकर्ताको कमजोर मनोविज्ञानका कारण बजारले एकैपटक ठूलो सुधारको गति लिन कठिन हुन्छ । त्यसैले आगामी दिनमा बजार क्रमशः सुधार हुँदै जाने सम्भावना रहेको उनको भनाइ छ । “यत्रो समयदेखि मास साइकोलोजीमा असर परेको छ र लगानीकर्ताको कन्फिडेन्स पनि घटेको छ ।

यस्तो अवस्थामा एकैपटक कन्फिडेन्स बढेर बजार तीव्र रूपमा माथि जानुभन्दा त्यसलाई फर्किन केही समय लाग्छ,” उनले भने । उनका अनुसार पछिल्लो समय सेयर बजारसँग सम्बन्धित केही नीतिगत विषयमा भएका सुधारले बजारको मनोविज्ञानमा सकारात्मक प्रभाव पार्न सक्छन् ।

बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेको निश्चित अवधिपछि मात्रै बिक्री गर्न पाउने व्यवस्थामा आएको परिवर्तन, पुँजीगत लाभकरसम्बन्धी व्यवस्था, इन्ट्राडे सर्ट सेलिङ, अक्सन मार्केट तथा कम्पनीले आफ्नै सेयर बाइब्याक गर्न सक्ने व्यवस्थालगायतका विषय बजारका लागि महत्वपूर्ण हुन सक्ने जानकारहरूको भनाइ छ ।

“यी विषयहरू विस्तारै कार्यान्वयनमा आउँदै जाने हो भने बजारलाई सकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले सोमबारदेखि नै एकैपटक ठूलो उछालभन्दा पनि बिस्तारै सकारात्मक हुँदै जाने सम्भावना देखिन्छ,” उनले भने ।

आगामी समय कम्पनीहरूले बोनस तथा लाभांश घोषणा गर्ने अवधि भएकाले त्यसले लगानीकर्ताको ध्यान पुनः कम्पनीको आधारभूत पक्षतर्फ तान्न सक्ने जानकारहरूको बुझाई छ । पछिल्लो समय आधारभूत रूपमा बलिया कम्पनीहरूको सेयर मूल्यमा समेत क्रमशः सुधार देखिन थालेकाले त्यसले बजारमा सकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ ।

गत साता बुधबार ३६.२५ अंकको गिरावट आए पनि बिहीबार नेप्से ११.७७ अंकले बढेको थियो । यसले बजारमा बिक्री दबाबपछि खरिदकर्ता पुनः सक्रिय हुन थालेको संकेत गरेको जानकारहरूको बुझाइ छ ।

यद्यपि, बजारमा अझै पनि लगानीकर्ताको मनोविज्ञान पूर्ण रूपमा बलियो भइनसकेको हुँदा आगामी साता पनि उतारचढाव कायम रहन सक्ने देखिन्छ । यस्तो अवस्थामा बजारले एकैपटक ठूलो उछाल लिनुभन्दा क्रमशः सुधारको बाटो समात्न सक्ने जानकारको भनाइ छ ।

बजार क्रमशः सुधारतर्फ जाने संकेत देखिएको सरोकारवालाहरूको भनाई छ । उनहिरूका अनुसार सुधार आएको भन्दैमा बजार सधैं बढ्ने मात्रै हुँदैन । उतारचढाव बजारको प्रकृति नै भएकोले यसलाई क्रमशः आउँदै गरेको सुधारको रुपमा लिनुपर्ने उनीहरूको मत छ ।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार  ०६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।