अर्थतन्त्र सुस्त, लगानी ठप्प: बैंकिङ प्रणालीमा थुप्रियो पैसा !


पछिल्लो समय बैंक तथा वित्तीय प्रणालीमा कर्जा प्रवाह सुस्त बन्दै गएको छ । लगानी नबढ्दा बैंकहरूमा ठूलो परिमाणको रकम  थुप्रिएर बसेको छ ।

सोमबार मात्रै राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा  अन्तर्गत करिब ८ खर्ब रुपैयाँ तानेको छ । यसरी केन्द्रीय बैंकले रकम तान्नुको अर्थ, बैंकहरूले निजी क्षेत्रमा कर्जा प्रवाह गर्न नसकेर निक्षेप राख्न थालेका छन् ।

३९ वटा बैंक तथा वित्तीय संस्थाले तीन दिनका लागि ३ प्रतिशत ब्याजदरमा ७ खर्ब ३ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् भने १८ संस्थाले निक्षेप संकलन उपकरणमार्फत ४२ दिनका लागि ९० अर्ब रुपैयाँ थप राखेका छन् । औसत ब्याजदर २.७२ प्रतिशत पाउने यी बैंकहरूको निष्क्रिय पूँजी हालसम्मकै उच्च देखिएको हो । विगतमा अधिकतम ४ खर्ब रुपैयाँ हाराहारीमात्रै राष्ट्र बैंकमा जम्मा हुने रकम अहिले ८ खर्ब नजिक पुगेको छ ।

बैंकहरूमा यति ठूलो परिमाणमा रकम बाँकी रहनुको प्रमुख कारण भनेको अर्थतन्त्रको सुस्त गति र राजनीतिक अनिश्चितता हो । लगानीका अवसर सिमित भएका कारण कर्जा माग घटेको छ ।

सामान्यतया बैंकहरूले कर्जा प्रवाह गरेपछि बाँकी रकम केन्द्रीय बैंकले तान्ने गर्छ, तर अहिले कर्जा विस्तार नै ठप्प हुँदा बैंकहरूसँगको निष्क्रिय निक्षेप केन्द्रीय बैंकमा फसेको हो ।

केही समयअघि जेनजी आन्दोलनपछि बजारमा थप अनिश्चितता बढ्दा लगानीकर्ता झन् सशंकित बनेका छन् ।

गत तिहारअघि बैंकहरूले करिब ७ खर्ब ४९ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका थिए । उक्त रकमको अवधि सकिएपछि बैंकमा फर्किएको थियो । अहिले फेरि त्यो रकम ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकले तानेको छ ।

बैंकिङ प्रणालीमा हाल जम्मा १० खर्ब ७६ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । असोज मसान्तसम्म वाणिज्य, विकास र वित्त कम्पनी मिलाएर ७४ खर्ब ५५ अर्ब निक्षेप र ५६ खर्ब ३३ अर्ब कर्जा लगानी रहेको थियो ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौसम्मको विवरणअनुसार, निजी क्षेत्रतर्फ कर्जा प्रवाह ०.९ प्रतिशतले मात्र बढेको छ । गत वर्ष यस अवधिमा वृद्धि दर १.४ प्रतिशत थियो । वार्षिक विन्दुगत आधारमा हेर्दा, २०८२ भदौ मसान्तमा निजी क्षेत्रतर्फको कर्जा विस्तार ७.८ प्रतिशत ले मात्र बढेको छ ।

क्षेत्रगत हिसाबले हेर्दा, निर्माण क्षेत्रतर्फको कर्जा २.६ प्रतिशत, औद्योगिक उत्पादन १.९ प्रतिशत, उपभोग्य क्षेत्र १.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा १.० प्रतिशत, र थोक तथा खुद्रा व्यापार १.० प्रतिशत ले बढेको छ । तर सेवा उद्योग क्षेत्रमा भने कर्जा ०.३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार  १४ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।