काठमाडौं । पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै गएको छ । नेपाली बजारमा तीन दिनको अवधिमा सुनको मूल्य तोलामा १६ हजार ५ सय रुपैयाँले घटेको छ ।
गत शुक्रबार प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर मङ्गलबार दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव नेपाली बजारमा पर्न थालेको व्यवसायीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार सुनको मूल्य प्रतिऔँस तीन हजार ९७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यसअघि प्रतिऔँस सुनको मूल्य चार हजार तीन सय अमेरिकी डलर पुगेको थियो ।
आइतबार एकै दिनमा तोलामा ११ हजार छ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार र मङ्गलबार तोलामा दुई हजार नौ सय रुपैयाँका दरले घटेको महासङ्घले जनाएको छ ।
यसअघि असोज ३१ मा दुई लाख ५८ हजार पुगेको थियो । त्यसपछि सुनको मूल्य क्रमिक रूपमा घट्दै गएको छ । पछिल्लो समय विभिन्न मुलुकमा भएको युद्धविरामसँगै सुनको मूल्य निरन्तर घट्न थालेको हो ।
सुन व्यवसायीहरू ठुलामा देशमा भइरहेको व्यापार युद्ध रोकिने देखिएकाले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले सुन बेच्न थालेपछि मूल्य घट्न थालेको बताउँछन् । अमेरिकामा सेयरबजार बढ्दै गएकाले पनि लगानीकर्ता अन्य क्षेत्रमा आकर्षित हुुन थालेकाले सुनको मूल्य घट्दै गएको हो । नेपाली बजारमा अझै केही समय सुनको मूल्य घट्ने व्यवसायीहरूको आँकलन छ ।
गत शुक्रबार ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तीन दिनमा तोलामा ३६० रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।












प्रतिक्रिया