यी वस्तुको निर्यात बढाएर कम गर्न सकिन्छ व्यापार घाटा


काठमाडौँ । नेपालको वैदेशिक व्यापार घाटाको स्थिति डरलाग्दो भएपनि केही वस्तुहरुको निर्यातमा भने सन्तोषजनक प्रगति देखिएको छ ।

भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार नेपालबाट विभिन्न १२ वस्तुहरु अर्बभन्दा बढी निर्यात भएका छन् । यी वस्तुहरुको उत्पादन र गुणस्तर बढाउने हो भने नेपालले चुलिँदो व्यापार घाटा कम गर्न सक्छ ।

विभागको अनुसार नेपालले चालु आर्थिक वर्षको ३ महिनामा सोयाबिन तेल, कार्पेट, सुर्यमुखी तेल, अन्य फेल्ट, पाम तेल, अलैँची, जुट वाफाइबरबाट बनेका कपडा, धागो, रसहरुको मिश्रण, उनबाट बनेको सल, चिया र फाइबर अर्बभन्दा बढी निर्यात गरेको हो ।

नेपालले भारत, अमेरिका, जर्मनीलगायतका देशहरुमा सबैभन्दा बढी निर्यात गर्दै आएको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको ३ महिनामा सोयाबिन तेल नेपालबाट सबैभन्दा बढी निर्यात भएको छ । ३ महिनामा कूल ३० अर्ब ६९ करोड ७८ लाख रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको विभागले जनाएको छ । सोयाबिन तेल भारतमा मात्र निर्यात भएको तथ्यांकमा देखाएको छ ।

त्यसैगरी, नेपालबाट बढी निर्यात हुने वस्तुहरुमध्ये दोस्रो नम्बरमा कार्पेट परेको छ । कार्पेट २ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ । नेपालबाट अमेरिका, यूके, जर्मन, फ्रान्स, इटाली, यूएई, क्यानडालगायतका विभिन्न मुलुकमा कार्पेट निर्यात गरेको छ ।
नेपालबाट सुर्यमुखी फुलको तेल पनि अर्बभन्दा बढी निर्यात भएको छ । ३ महिनाको अवधिमा २ अर्ब १३ करोड ९५ लाख रुपैयाँ बराबरको ३ करोड ९० लाख ६३ हजार लिटर सुर्यमुखी तेल निर्यात भएको छ । उक्त तेल नेपालबाट भारतमा मात्र निर्यात भएको हो । अन्य फेल्ट १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ बराबरको ५ लाख ६२ हजार किलोग्राम निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

सोही अवधिमा नेपालबाट पाम तेल १ अर्ब ७३ करोड ३४ लाख रुपैयाँको ९६ लाख ७६ हजार लिटर अन्य मुलुकमा निर्यात गरेको छ ।

पछिल्लो समय नेपालबाट अलैँची पनि बढी मात्रामा निर्यात भएको छ । चालु आवको ३ महिनाको अवधिमा नेपालबाट १ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ बराबरको १० लाख ७२ हजार किलोग्राम अलैँची निर्यात गरेको हो ।

जुट वा फाइबरबाट बनेका कपडाहरु पनि १ अर्ब ५९ करोड १ लाख रुपैयाँ बढीको निर्यात भएको छ । ३ महिनामा १ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ बराबरको ६७ लाख ९३ हजार किलोग्राम धागो निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

नेपालबाट भारत, जापानलगायतका मुलुकहरुमा १ अर्ब २७ करोड २० लाख बराबरको १ करोड ४२ लाख लिटर रसहरुको मिश्रण निर्यात भएको छ । उनबाट बनेको सल पनि १ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ७ लाख ४८ हजार वटा निर्यात भएको हो । चिया पनि नेपालबाट बढी मात्रामा निर्यात हुने वस्तु हो । नेपालबाट भारत, जर्मन, यूएई, जापानलगायतका विभिन्न मुलुकमा १ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको ३५ लाख २० हजार केजी चिया निर्यात भएको छ ।

त्यसैगरी नेपालबाट फाइबार पनिअर्ब भन्दा बढीको निर्यात हुने गरेको छ । ३ महिनाको अवधिमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ बराबरको ३८ लाख ३२ हजार केजी फाइबर भारत र टर्कीमानिर्यात भएको हो ।

यसरी नेपालमा उत्पादनभएका वस्तुहरु विभिन्न मुलुकमा निर्यात बढाउन सके नेपालको व्यापार घाटा कमहुने विज्ञहरु बताउँछन् । नेपालमा विदेशबाट कच्चापदार्थ ल्याई प्रशोधन गर्नु भन्दा नेपालमा उत्पादन हुने वस्तुहरुको निर्यातमा जोड दिनुपर्ने उनीहरुको दाबी छ ।

 

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार  ०५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।