महाकाली सिँचाइ आयोजनाः ९ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति


महेन्द्रनगर । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ । साथै आयोजनामा ९ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।

बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन क्षेत्र व्यवस्थापनलगायत कारणले आयोजनाको प्रगति कछुवा गतिमा भएको हो । “मुआब्जामा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र समयमा वन क्षेत्रको व्यवस्थापन नहुँदा आयोजनाको प्रगति सुस्त भएको हो”, आयोजनाका सिनियर डिभिजिन इन्जिनियर राजेशभक्त पोखरेलले भने ।

इन्जिनियर पोखरेलका अनुसार निर्माण कम्पनीसँग १ अर्ब ९७ करोड रुपैयाँको सम्झौता गरेर कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण ४ चरणमा जारी छ । हालसम्म मूल नहरअन्तर्गत ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८.८ किलोमिटर निर्माण भइसकेको छ ।

महाकाली सन्धिअनुसार भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म बनाउनुपर्ने १ हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । आगामी २०८७ सम्ममा कैलालीको मालाखेतीसम्म नहर निर्माण सक्ने सरकारको लक्ष्य छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।