असोजमा बढ्यो ईभीको व्यापार, एकै महिनामा भित्रिए २१ सय ३४ वटा गाडि


काठमाडौँ । असोजमा विद्युतिय सवारी (ईभी) को व्यापार बढेको छ । दसैँको समयमा दिइएको छुट र अफरले ईभीको व्यापारमा उत्साह छाएको हो ।

दसैँ र तिहारमा व्यापार बढाउने उद्देश्यले विभिन्न कम्पनीहरुले छुट तथा भारी छुटको अफर सञ्चालन गरेका थिए । फलस्वरुप असोज महिनामा ईभीको व्यापार सन्तोषजनक भएको नाडाका अनुप बराल बताउँछन् ।

यो वर्ष मात्र नभइ असोज र कात्तिक महिना ईभी गाडिको मुख्य सिजनको महिना भएको उनको भनाइ छ । जेनजी आन्दोलन र बाढी पहिरोले निराश बनेको इभी बजारमा सोचे भन्दा राम्रो व्यापार भएको  हाे ।

यता, असोज महिनामा सवारी साधन आयात पनि बढेको छ ।असोजमा मात्र २६ सय २० वटा  ईभी भित्रिएका छन् । जुन भदौको तुलनामा २१ सय ३४ वटा बढी हो । अघिल्लो महिना भदौसम्म ४८६ वटा मात्र ईभी आयात भएका थिए ।

तीन महिनाको अवधिमा ६ अर्ब २५ करोड ५ लाख ५८ रुपैयाँ बराबरको २६ सय २० वटा सवारी आयात भएका हुन् । २६ सय २० वटा ईभी आयात हुँदा सरकारले ३ अर्ब ९१ करोड ६५ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार नेपालमा ५१ देखि १०० किलोवाट क्षमताका ईभी सबैभन्दा धेरै भित्रिएका छन् । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा ५१ देखि १०० किलोवाट क्षमताका ४ अर्ब २ करोड १९ लाख ८९ हजार रुपैयाँ बराबरको १ हजार ५४५ युनिट ईभी भित्रिएका हुन् ।

यस्तै, चालु आर्थिक वर्षमा ५० किलोवाट क्षमताका १ अर्ब २६ करोड ६७ लाख १६ हजार रुपैयाँ बराबरको ७५१ युनिट ईभी भित्रिएका छन् ।

१०१ देखि २०० किलोवाट क्षमताका ९५ करोड ७० लाख ४ हजार रुपैयाँ बराबरको ३२३ युनिट ईभी भित्रिएका छन् । यस्तै, २०१ किलोवाट भन्दा माथिका ४८ लाख ४९ हजार रुपैयाँ बराबरको १ युनिट गाडी आयात गरिएको छ ।

विद्युतिय सवारी साधनहरु मुख्यतः भारत र चीनबाट आयात भइरहेको विभागले जनाएको छ । ५० किलोवाट क्षमता भएका ईभीमध्ये चीनबाट ५४२ र भारतबाट २०९ वटा भित्रिएका छन् । ५१–१०० किलोवाट क्षमताका सवारी चीनबाट १ हजार ९१, भारतबाट २५२, थाइल्यान्डबाट २०१ र युनाइटेड किंगडमबाट १ वटा भित्रिएको छ ।

१०१–२०० किलोवाट क्षमता भएका सवारी मध्ये चीनबाट ३०४, भारतबाट २, जर्मनीबाट ५, कोरिया र अमेरिकाबाट क्रमशः २ र १० वटा भित्रिएका छन् । २०१–३०० किलोवाट क्षमता भएको एक सवारी मात्र अमेरिकाबाट आयात भएको विभागले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०८१-८२ को असोजसम्म विभिन्न ब्रान्डका २५ सय १८ वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको थियो । विभागले ५० किलोवाट क्षमताका ईभी ७७२, ५१ देखि १०० किलोवाट क्षमताका १५ सय ८२ र १०१ देखि २०० किलोवाट क्षमताका १५९ वटा गाडीको आयात भएको थियो ।

यस्तै, २०१ देखि ३०० किलोवाट सम्मको तीन र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको थियो । भन्सार विभागका अनुसार ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएको हो ।

यस्तै, आर्थिक वर्ष २०८०-८१ मा नेपालमा २९ अर्ब ४८ करोड २७ लाख रुपैयाँ बराबरको १ हजार ७०१ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार  १४ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।