सानो लगानी, ठूलो सफलता

चटपटे व्यवसायबाट मासिक ४ लाख आम्दानी


काठमाडौँ । पछिल्लो समय नेपालीहरुको सबैभन्दा मनपर्ने र लोकप्रिय खाजा बन्न पुगेको छ चटपटे । नेपालका प्रमुख सहरहरुमा चटपटे र पानीपुरीको व्यापार आम्दानीको श्रोत बनेको छ । थोरै लगानीमा धेरै फाइदा हुनेहुँदा पानीपुरी र चटपटेको व्यापार गर्नेहरु बढेका छन् । चटपटेको यही लोकप्रियतालाई काठमाडौँकी एक उद्यमीले आम्दानीको बलियो स्रोत बनाएकी छन् ।

सानो लगानी र स्वदेशमा नै गरेको मेहनतले राम्रो आम्दानी गर्न सकिन्छ भन्ने जल्वन्त उदाहरण बनेकी छन्, लक्ष्मी राई । दैनिक लाखौँको भिड लाग्ने राजधानीको व्यस्त शहर बानेश्वरमा चटपटे र पानीपुरी बेचेर उनले मासिक ४ लाख रुपैयाँ बढी आम्दानी गरीरहेकी छिन् । राईले विगत ५ वर्षदेखि मध्ये बानेश्वरमा स्पाइसी लाफिङ सेन्टर सञ्चालन गर्दै आएकी छन् ।

दैनिक २ जनालाई रोजगारी प्रदान गर्दै उनले प्रमाणीत गरिदिएकी छन् की लगनशिलता, मेहनत, गुणस्तरीय भएमा स्वदेशमा नै सानो कामबाट पनि ठूलो आर्थिक उपलब्धी हासिल गर्न सकिन्छ । उनले एक सटरमा मासिक ३५ हजार भाडा तिरेर व्यवसाय चलाउँदै आएकी छन् । उनले उक्त सटरमा चटपट, पानीपुरी, लाफिङ, नुडल्स लगायतका परिकारहरु बिक्री गर्दै आएकी हुन् । सुरुमा एक्लैले सञ्चालन गरेको व्यवसाय फस्टाउदै गएपछि विस्तारै व्यवसायलाई विस्तार गर्दै अरुलाई रोजगारी प्रदान गर्नेसम्म पुर्याएकी हुन् ।

चटपटे बेचेरै दिनमा १५ देखि २० हजारसम्म कमाएको सो लाफिङ सेन्टरमा कार्यरत रामेछापकी मन्दिरा मानन्धर सुनाउँछिन् । उनी उक्त सेन्टरमा विगत १ वर्षदेखि कार्यरत रहेको बताउँछिन् । बिहान ९ बजेदेखि बेलुका ७/८ बजेसम्म ३ जनाले पसल चलाईरहेको उनी बताउँछिन् ।

साना व्यवसायबाटै मासिक ४ देखि ५ लाखसम्म आम्दानी लिन सकिने अनुभव उनले सँगालेकी छन् ।  ‘दिनमा थोरै आम्दानी भयो भन्दा पनि ८\१० हजार रूपैयाँसम्म आम्दानी हुन्छ’, हालको समयमा सबै परिकारहरुको माग राम्रो रहेको छ,’ उनले भनिन् । सबैभन्दा बढी बिक्ने भनेको चटपटे र पानीपुरी हो । यसको व्यापार सदाबहार हुने उनले बताइन् ।

‘चटपटे, पानीपुरी सबैले मन पराउँछन्,’ त्यस्तै लाफिङ र नुडल्सको पनि उत्तिकै स्थान रहेको छ । विशेषगरी दिउँसो खाजा खाने समय र बेलुकाका भएपछि बनाएर दिन भ्याइनभ्याइ नै हुन्छ, उनले भनिन् ।

स्पाइसी लाफिङ सेन्टरमा चटपट र पानीपुरी परप्लेट ५० रुपैयाँमा बिक्री हुन्छ । त्यस्तै, लाफिङ पर पिलेट ६५ रुपैयाँ, ड्राई लाफिङ ६० रुपैयाँ, मिक्स झोल लाफिङ ७५ रुपैयाँ, मिक्स ड्राई लाफिङ ७० रुपैयाँ, प्लेन झोल लाफिङ ६० रुपैयाँ, प्लेन ड्राई लाफिङ ५५ रुपैयाँ, चिकेन लाफिङ १०० रुपैयाँ र बफ लाफिङ १०० रुपैयाँमा बिक्री हुँदै आएको छ ।

त्यसैगरी, चिकेन किमा नुडल्स परप्लेट २३० रुपैयाँ, बफ किमा नुडल्स २०० रुपैयाँ, भेज नुडल्स १५० रुपैयाँमा बिक्री हुँदै आएको उनले बताइन् ।

उनकोमा दैनिक १०० जना बढी खाजा खाने ग्राहक हुन्छन् । सानो व्यवसाय भए पनि सफा, स्वादिष्ट र गुणस्तर हुने भएकाले सबैको रोजाइमा परेको उनको बुझाइ छ । चटपटे, पानीपुरी स्वादिष्ट बनाउन सबै मरमसलाको मात्रा मिलाउन सक्नुपर्छ । गेडागुडी, काँक्रो, बन्दाकोभी, आलुचप, टमाटर, प्याज, चाउचाउ, दालमोट लगायतका कुरा भुजामा मिसाएर हेर्दै खाउँ–खाउँ लाग्ने बनाउनुपर्छ,’ मन्दिराले भनिन् ।

पछिल्लो समय रोजगारीको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशिरहेका छन् । तर लक्ष्मीको यो मेहनत र सफलताले स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने दरिलो सन्देश दिएको छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार  ०६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।