काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ को निष्काशन गर्ने भएको छ ।
बैङ्कले एक हजार रुपैयाँ अङ्कित दरको ३० लाख कित्ता निष्काशन गर्ने भएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा सो सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा रावा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । सम्झौतामा उल्लेख भए अनुसार रावा बैङ्कले तीन अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।
जसको ६० प्रतिशत अर्थात् १८ लाख कित्ताले हुन आउने एक अर्ब ८० करोड रुपियाँ बराबरको रकम संस्थागत तथा व्यक्तिगत तवर र ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने एक अर्ब २० करोड रुपियाँ बराबरको रकम सर्वसाधारणका लागि निष्कासन गरिने बैङ्कले जनाएको छ । ऋणपत्रको वार्षिक ब्याजदर छ प्रतिशत र अवधि सात वर्षको रहने सम्झौतापत्रमा उल्लेख छ ।












प्रतिक्रिया