सिटीटेकद्वारा ‘फिनपस मिनी’ सार्वजनिक


काठमाडौँ । सिटीटेक ग्रुप प्रालि ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न एनएएस–आईटी एक्स्पो २०२५ को अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो फिनपस मिनी (फिनपस मिनी) पस औपचारिक रूपमा सार्वजनिक गरेको छ।

फिनपस मिनी एक क्रान्तिकारी डिजिटल भुक्तानी उपकरण हो, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ। यस उपकरणले भिसा, मास्टरकार्ड, युपिआइ र नेपालपे लगायतका कार्ड योजनाहरूका साथै नेपालपे क्युआर, फोनपे र स्मार्टक्युआर जस्ता क्युआर योजनाहरूलाई पनि समर्थन गर्दछ।

साना आकारको, आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो यो उपकरणले ग्राहक र व्यवसायी दुवैका लागि छरितो, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ। यसको सानो तर बहुउपयोगी स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायीदेखि लिएर साना–ठूला सबै प्रकारका व्यापारीहरूका लागि डिजिटल भुक्तानीलाई अझ सुलभ बनाएको छ।

कार्यक्रमको क्रममा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकले समझदारी पत्र ९एलओआई० मा हस्ताक्षर गर्दै फिनपस मिनीलाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छाशक्ति प्रकट गरेका छन्।

सिटीटेकको लोकप्रिय ब्रान्ड फिनपस हाल नेपालभरका बाह्र वटा बैंकहरूमा पस सेवा प्रदान गर्दै करिब दश हजारभन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको छ। फिनपस मिनीको शुभारम्भसँगै सिटीटेकले बैंक तथा वित्तीय संस्थाहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती अक्वायरिङ सोलुसन प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको छ।

सिटीटेकका प्रमुख कार्यकारी अधिकृत सजन शर्माले भने,“फिनपस मिनी केवल एउटा उत्पादन होइन, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं।”

सिटीटेकले आगामी दिनमा फिनपस मिनीमार्फत नेपालभरका साना तथा मध्यम व्यवसायीहरूलाई डिजिटल भुक्तानी प्रणालीमा जोड्दै देशको वित्तीय समावेशीताको लक्ष्यलाई थप सुदृढ बनाउने योजना बनाएको जनाएको छ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।