काठमाडौ । लाखौँ ग्राहकहरूमाझ आधुनिक र गतिशील बैंकिङ सेवा प्रदान गर्दै आएको एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) तथा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैंकका अनुसार, ग्राहकहरूको खाताबाट गरिएको करकट्टी विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग अन्तर्गतको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक अनिवार्य रहेको जनाएको छ।
ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप एन आई सी एशिया मोबैंक मा रहेको “प्यान अपडेट” विकल्पमा गएर सजिलै आफ्ना विवरण अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकको कुनै पनि शाखा कार्यालयमा गएर पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
बैंकका अनुसार, निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको करलाई ई–टिडिएस रेकर्डमा समावेश गर्न प्यान अत्यावश्यक छ। प्यान अद्यावधिक गरेपछि करकट्टी विवरण सोही प्यानमा प्रविष्ट गरिने हुँदा आयकर प्रणालीले स्वचालित रूपमा कर विवरण मिलान गर्नेछ, जसबाट ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र सजिलै प्राप्त गर्न सकिनेछ। यसले बैंकसम्म धाउनुपर्ने झन्झटको अन्त्य हुने बैंकले विश्वास व्यक्त गरेको छ।
बैंकले थप स्पष्ट पारेको छ कि, प्यान अद्यावधिक नगरिएका खातामा ई–टिडिएस अभिलेख नभएको वा ब्याजकरमा थप समायोजन गर्नुपर्ने अवस्थाहरूमा बैंक जिम्मेवार नहुने छ।
त्यस्तै, ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना समेत अद्यावधिक गर्न अनुरोध गरिएको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी वा मोबैंक एपमा रहेको “माइ प्रोफाइल” मा गई “चेन्ज इमेल” छनोट गरी इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। साथै, शाखा कार्यालयमार्फत पनि सो प्रक्रिया पूरा गर्न सकिनेछ।
यदि प्यान उपलब्ध गराइसक्दा पनि करकट्टी विवरण समावेश नभएको वा इमेल अद्यावधिक नभएको खण्डमा, ग्राहकहरूले नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न वा बैंकको ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१ तथा ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।












प्रतिक्रिया