सडकदेखि मतपत्रसम्म : जेन जी आन्दोलन र नेपालको आगामी चुनावबारे छलफल सम्पन्न


ललितपुर । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (नाइस) ले “सडकदेखि मतपत्रसम्म: जेन जी आन्दोलन र नेपालको आगामी चुनाव” विषयमा नाइस सेमिनार हल, हात्तिवनमा एक अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै नाइसका कार्यक्रम संयोजक विवेक ध्वज थापाले हालैको जेन जी आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा ऐतिहासिक परिवर्तनको संकेत दिएको बताउँदै युवाको सहभागिताले नेतृत्वमा नयाँ सोच ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा जेन जी अभियन्ता तनुजा पा`ण्डेले हालको आन्दोलन प्रणालीगत असफलताबाट उत्पन्न भएको भन्दै जेन जी पुस्ताले समानता र न्यायमा आधारित “उन्नत लोकतन्त्र” चाहेको बताइन्। अर्का अभियन्ता अर्नब चौधरीले जेन जीलाई विभाजित देखाउने धारणा गलत भएको उल्लेख गर्दै उनीहरू देशभर साझा लक्ष्यका साथ जोडिएका रहेको स्पष्ट पारे।

नेपालस्थित पालिसी इन्ट्रप्रेनर्स इन्क (पिइआइ) का निर्देशक अनुराग आचार्यले सन् २००६ को आन्दोलनसँग वर्तमान आन्दोलनको तुलना गर्दै यो पुस्ता परिवर्तनका लागि अधैर्य नभएको र तत्काल सुधार चाहने पुस्ता भएको टिप्पणी गरे।

कार्यक्रममा शिक्षाविद्, अनुसन्धानकर्ता, कूटनीतिज्ञ, सञ्चारकर्मी तथा विश्वविद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।