तीन महिनामा बैंकिङ प्रणालीमा २ खर्ब १८ अर्ब थपियो निक्षेप


काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३ प्रतिशत (२ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँ) ले बढेको छ ।

यससँगै असोजसम्ममा बैंकिङ प्रणालीमा निक्षेप ७४ खर्ब ८२ अर्ब ५९ करोड रुपैयाँ पुगेको केन्द्रीय बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति विषयक प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार, अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.६ प्रतिशत (१ खर्ब ७० अर्ब रुपैयाँ) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.० प्रतिशतले बढेको छ ।

२०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.४ प्रतिशत, ३८.७ प्रतिशत र ४६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.४ प्रतिशत, ३२.७ प्रतिशत र ५४.८ प्रतिशत रहेको थियो ।

२०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत रहेको छ । २०८१ असोज मसान्तमा यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार  १३ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।