सार्वभौम क्रेडिटमा नेपालले फेरि पायो ‘बीबी माइनस’ रेटिङ, आर्थिक स्थायित्व बलियो रहेको पुष्टि


काठमाडौं । सार्वभौम क्रेडिटमा नेपालले पुनः ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ । विषम परिस्थितिमा पनि नेपालको रेटिङ यथास्थानमा रहनु सन्तोषजनक भएको भन्दै अर्थ मन्त्रालयका प्रतिनिधिहरू र निजी क्षेत्रले समेत यसको स्वागत गरेका छन्  ।

यसअघि प्रथम पटक सन् २०२४ मा गरिएको सार्वभौम क्रेडिट रेटिङमा पनि नेपालले ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको थियो ।

फिट्चले मंगलबार सार्वजनिक गरेको संक्षिप्त विवरणअनुसार तुलनात्मक रूपमा नेपालको रेटिङ राम्रो भएको देखिएको हो । सन् २०२५ का लागि ‘फिट्च रेटिङ्स’बाट दोस्रो पटक यस्तो रेटिङ्स प्राप्त गरेको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता एवम् सहसचिव टंकप्रसाद पाण्डेयले अहिलेको विषम परिस्थितिमा पनि यो रेटिङ प्राप्त गर्नु सन्तोषजनक र सकारात्मक भएको बताए ।

उनले सरकारले गरेको वित्तीय अनुशासन, राजश्व व्यवस्थापनमा सुधार, खर्च कटौती तथा समयमै निर्वाचन गराउने प्रतिवद्धता लगायतका कारण अन्तराष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास मजबुत बनाएको समेत उल्लेख गरे ।

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले फिचले बीबी माइनस रेटिङ दिएर स्थिर अवस्था जनाएको सामाजिक सञ्जाल फेसबूकमा उल्लेख गरेका छ्न् ।

निजी क्षेत्रले पनि यो रेटिङले सकारात्मक सन्देश दिएको जनाएको छ ।  अर्थमन्त्री खनालको फेसबूक स्टाटसमा प्रतिक्रिया दिँदै निजी क्षेत्रका केही प्रतिनिधिहरूले यसलाई सुखद् र सकारात्मक भनेका छन् ।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार  २१ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।