गत वर्ष आईपीओ बिक्री गरेको आशा लघुवित्तको उत्साहप्रद प्रगति

0
Shares

आशा लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनमा २५३ प्रतिशत बढी हो । अघिल्लो वर्ष लघुवित्तले एक करोड दश लाख कमाएको थियो ।

लघुवित्तले व्यवसायको आकार बढाएसँगै खुद ब्याज आम्दानीमा आएको सुधारले नाफा बढेको हो । संस्थाको कर्मचारी खर्च र प्रोभिजन रकम भने बढेको छ ।

लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख छ । आईपीओ बिक्री गरेर संस्थाले ४८ प्रतिशतले पूँजी बढाएको हो । संस्थाले ६ करोड ७४ लाख रुपैयाँको साधारण शेयर बिक्री गरेको थियो । जसको जगेडाकोषमा ३ करोड ८९ लाख जम्मा भएको छ ।

४९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले एक अर्ब १९ करोड अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर एक अर्ब ८९ करोड कर्जा लगानी गरेको छ। जसबाट ११ करोड ५१ लाख खुद ब्याज आम्दानी गरेको छ।

नाफा बढेसँगै यस लघुवित्तको प्रतिशेयर आम्दानी १३८ प्रतिशतले बढेर १८ रुपैयाँ ८९ पैसा कायम भएको छ । खराब कर्जा बढेर १.४९ प्रतिशत पुगेको छ । प्रतिशेयर ११८ रुपैयाँ १८ पैसा तथा मूल्य आम्दानी अनुपात २०.९१ प्रतिशत कायम भएको छ ।