काठमाडौँ । नेपालमा आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा विदेशी पर्यटकले नेपालमा गरेको खर्चभन्दा विदेश घुम्न जाने नेपालीले १ खर्ब १३ अर्ब २८ करोड रुपैयाँ बढी खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, नेपालीहरूले विदेशमा घुमफिरमा मात्र नभएर शिक्षा र स्वास्थ्य उपचार जस्ता अत्यावश्यक क्षेत्रमा समेत ठूलो मात्रामा पैसा खर्च गरेको देखिन्छ । यसरी नेपालीको विदेश मोहले ठुलो मात्रामा धनराशी विदेशीने गरेको छ ।
बैंकको तथ्यांक अनुसार तीन महिनाको अवधिमा नेपालीहरुले विदेशमा १ खर्ब ६६ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेका छन् । यहि अवधिमा विदेशीहरुले नेपाल भ्रमणमा आउँदा ५३ अर्ब ६ करोड रुपैयाँ मात्र खर्च गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा नेपालीहरुले विदेश भ्रमणमा १ खर्ब ५४ अर्ब ६५ करोड रुपैयाँ खर्चिएका थिए । सो अवधीमा विदेशीहरुले नेपालमा ५१ अर्ब ८ करोड रुपैयाँ मात्र खर्च गरेको थिए ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को सो अवधीमा नेपालीले ८७ अर्ब ८४ करोड रुपैयाँ खर्च गर्दा विदेशीहरुले ३४ अर्र्ब ७५ करोड रुपैयाँ मात्र खर्च गरेका थिए ।
मुलुकलाई समृद्ध बनाउने एउटा पाटो विदेशी पर्यटक आगमनलाई मानिए पनि तथ्यांकले नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी देखाएको छ । पछिल्लो समय नेपालीहरु पनि पर्यटकका रुपमा विदेश जाने क्रम बढेको छ । नेपालको संविधानले नै नागरिकलाई स्वतन्त्रता दिएकोले विदेश भ्रमण मोह बढ्दै गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दाबी छ ।
हालसम्म पर्यटन क्षेत्रको योगदानलाई हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्या र उनीहरूले भित्र्याउने पैसाका आधारमा मूल्यांकन गर्दै आएको छ । नेपालका सीमा क्षेत्रबाट भित्रिने विदेशी पर्यटक र उनीहरूले गर्ने खर्चको मूल्यांकन सरकारी निकायले गर्न सकेको छैन । पर्यटक आउँदा होटेल र रेस्टुरेन्टमा गर्ने खर्च, पर्यटन व्यवसायीको कमाइ, सरकारले उठाउने राजस्व र कामदारले पाउने पारिश्रमिकजस्ता विषयको पनि मूल्यांकन भने नभएको मन्त्रालयले जनाएको छ ।
शिक्षामा बाहिरियो ३२ अर्ब १७ करोड
शैक्षिक प्रयोजनमा बिदेसिने नेपालीले चालु आवको तीन महिनाको अवधीमा ३२ अर्ब १७ करोड रुपैयाँ विदेश लगेका छन् । गत वर्षको सोही अवधीमा यस्तो प्रयोजनका लागि ३२ अर्ब ९२ करोड रुपैयाँ बिदेसिएको थियो । गत वर्षको तुलनामा यो वर्ष शैक्षिक प्रयोजनमा खर्च घटेको छ । यो वर्ष ७४ करोड रुपैयाँ कम खर्च भएको बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । अघिल्लो आव ०८०/८१ को सो अवधीमा १७ अर्ब ८८ करोड रुपैयाँ बिदेसिएको थियो ।
शैक्षिक प्रयोजनका लागि नेपाल आउने विदेशी नागरिकले चालु आवको तीन महिनामा ७२ करोड १० लाख रुपैयाँ खर्च गरेका छन् । जसकारण शैक्षिक प्रयोजनका लागि हुने आवतजावतबाट सेवा खातामा ३१ अर्ब ४५ करोड रुपैयाँको घाटा व्यहोर्नुपरेको छ ।
गत आवको सो अवधीमा विदेशी नागरिकले शैक्षिक प्रयोजनमा १ अर्ब ५९ करोड रुपैया र अघिल्लो आवमा ८४ करोड रुपैयाँ मात्र खर्च गरेका थिए ।
उपचारका ९ करोड खर्च बाहिरियो
नेपाली नागरिकहरु स्वास्थ्य उपचारका लागि पनि लाखौँको संख्यामा विदेश जाने गर्दछन् । स्वास्थ्य उपचारको प्रयोजनका लागि बिदेसिने नेपालीले चालु आवको ३ महिनामा ९ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् । त्यस्तै, नेपालमा उपचार गराउन नेपाल आउने विदेशीको खर्च भने २ करोड ८० लाख रुपैयाँ छ । उपचारका लागि विदेशजाँदा ६ करोड ६० लाख रुपैयाँ घाटा भएको बैंकको तथ्यांकमा उल्लेख छ ।
गत आवको सो अवधिमा विदेशमा उपचार गर्दा नेपालीले ६७ करोड ४० लाख रुपैयाँ खर्च गर्दा विदेशीले ४८ करोड २० लाख रुपैयाँ नेपालमा खर्चिएका थिए । सो अवधिमा १९ करोड १० लाख रुपैयाँ घाटा भएको थियो ।
बिजनेस भिसाबाट बाहिरियो ८८ करोड घाटा
बिजनेस भिसाबाट गरिने भ्रमणबाट नेपालीले ९९ करोड ५० लाख रुपैयाँ खर्चिएका छन् । नेपालमा यस्तो भिसामा आउने विदेशीले भने १० करोड ७० लाख मात्रै खर्च गरेका छन् । जसअनुसार व्यापारिक भ्रमणमा नेपालले सेवा खातामा ८८ करोड ७० लाख घाटा व्यहोर्नुपरेको छ । गत आवको ३ महिनामा यस्तो घाटा ४५ करोड २० लाख रुपैयाँ रहेको थियो । सो अवधीमा नेपालीले ७४ करोड ७० लाख खर्च गर्दा विदेशीहरुले २९ करोड ५० लाख रुपैयाँ खर्च गरेका थिए ।
व्यक्तिगत प्रयोजनमा सकाए ५४ अर्ब
चालु आवको तीन महिनामा व्यक्तिगत प्रयोजनमा नेपालीले ५४ अर्ब ७८ करोड रुपैयाँ खर्चिएका छन् । व्यक्तिगत कामले नेपाल आउने विदेशीले भने १७ अर्ब ६१ करोड रुपैयाँ मात्रै खर्च गरेका छन् । जसअनुसार व्यक्तिगत भ्रमणमा नेपालले सेवा खातामा ३७ अर्ब १७ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको छ । गत आवको सो अवधीमा सो प्रयोजनमा नेपालीले ५१ अर्ब ५ करोड रुपैयाँ सकाएका थिए भने विदेशीहरुले १६ अर्ब ८३ करोड रुपैयाँ मात्र खर्च गरेको थिए । सो अवधीमा नेपालले ३४ अर्ब २२ करोड रुपैयाँ घाटा व्यहोर्नु परेको थियो ।
अन्य कार्यका लागि विदेशीदा ५ अर्ब सेवा घाटा
चालु आवको पहिलो ३ महिनामा नेपालीहहरु अन्य कार्यका लागी विदेशीदा मुलुकलाई ५ अर्ब ६५ करोड रुपैयाँ सेवा घाटा भएको छ । सो अवधीमा नेपालीहरुले २२ अर्ब ५१ करोड रुपैयाँ खर्च गरेका छन् भने विदेशीहरुले १६ अर्ब ८६ करोड रुपैयाँ मात्र खर्च गरेका छन् । गत आवको सोही अवधीमा नेपालीले १७ अर्ब ४५ करोड रुपैयाँ खर्च गर्दा विदेशीले १४ अर्ब ७५ करोड रुपैयाँ मात्र खर्च गरेका थिए ।












प्रतिक्रिया