उन्नति माइक्रोफाइनान्स र सहकार्य लघुवित्तबीच मर्जर सम्झौता

0
Shares

उन्नति माइक्रोफाईनान्स र सहकार्य लघुवित्त एक आपसमा मर्जरमा जाने भएका छन् । दुई संस्थाबीच बिहिबार मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

५ नम्बर प्रदेशमा कार्यक्षेत्र बनाएर काम गरिरहेको उन्नति र २ नम्बर प्रदेशमा केन्दीत सहकार्य लघुवित्त वित्तीय संस्था मर्जरमा जान लागेका हुन । दुई संस्था मर्जर पश्चात उन्नति सहकार्य लघुवित्तको नामबाट एकिकृत कारोबार हुने छ ।

मर्जर सम्बन्धी सहमतिपत्रमा उन्नति माईक्रोफाइनान्सको संचालक समिति अध्यक्ष अनिता ढुङ्गाना शाह र सहकार्य लघुवित्तको संचालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार स्वाप रेसियो डिडिए प्रतिवेदनको आधारमा तय हुने छ । हाल उन्नतिको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार र सहकार्य लघुवित्त वित्तीय संस्था १ करोड ४० लाख रुपैयाँ रहेको छ । अबका दिनमा उन्नतिले १ः १ अनुपात र सहकार्यले १ः३ को अनुपातमा यस अघि पारित गरेको हकप्रद सेयर जारी गर्ने छन् । साथै सहकार्यको कल इन एडभान्समा रहेको रकमलाई पूँजीमा गणना गरिने भएको छ ।

मर्जपछि बन्ने नयाँ संस्थाको सीइओ र अध्यक्ष उन्नतिबाट र डेपुटी सीइओ सहकार्यबाट हुने सहमति भएको छ । त्यस्तै, संचालकमा उन्नतिको संस्थापक र साधारण शेयरधनीबाट दुई दुई जना सहकार्यबाट २ जना र एक जना स्वतन्त्र संचालक रहने सहमति भएको छ । दुई वित्तीय संस्थाहरु एक आपसमा गाभिई बन्ने वित्तीय संस्थामा ७ जना संचालक हुनेछन् ।

रुपन्देही जिल्लामा केन्द्रिय कार्यालय रहेको उन्नतिको १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ भने सर्लाही जिल्लामा केन्द्रिय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ ।