कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्लाको कटहरिया नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

​आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कटहरिया नगरपालिकामा आर्थिक वर्ष (आव) २०७७/०७८ को नगरसभाबाट बजेट स्वीकृत नगराइ सरिता फाउण्डेशनको नाममा पाँच लाखको चेक काटी मिलेमतोमा रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।
मुद्दामा साहसँगै सहायक लेखापाल विवेक कुमार सहनी, सहायक स्तर पाँचौँका राम नरेश प्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्रलाई प्रतिवादी बनाइएको छ।

अख्तियारले उजुरीको आधारमा अनुसन्धान गर्दा प्रतिवादीहरूले खराब नियत राखेर (बदनियतपूर्वक) ९ लाख ९८ हजार ९२१ रुपैयाँ सरकारी रकम भुक्तानी लिने/दिने गरी हिनामिना गरेको ठहर गरेको छ। त्यसैले, आयोगले सोही रकम बराबरको बिगो र प्रचलित कानूनबमोजिमको सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र (मुद्दा) दायर गरेको छ।”

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार  १७ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।