‘अण्डा’को लागत मूल्य बढ्यो


चितवन । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो ।

लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क्षक डा अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत मूल्य १९.१२ रुपैयाँ पर्न आउँछ । विगतमा लागत मूल्य १६.५६ रुपैयाँ रहेको थियो । ३ वर्ष अघि सरकारी र निजी क्षेत्रका भेटेरिनरियन चिकित्सकहरुले लागत मूल्य निकालेका थिए ।

डा दाहालका अनुसार दश हजार लेयर्स कुखुरापालन गरी अण्डा उत्पादन गर्दा लाग्ने अण्डाको मूल्य निकालिएको हो । यस अनुसार चल्लाको मूल्य प्रतिगोटा १५० रुपैयाँका दरले १५ लाख रुपैयाँ, ३ प्रकारका दाना, औषधि र भेक्सिन गरी ३ करोड ४८ लाख ८८ हजार ८०० रुपैयाँ खर्च निकालिएको छ । यसमा सुरुमा चल्लालाई खुवाउने एल वान दाना एउटा चल्लालाई २ किलो, जसको मूल्य प्रतिकिलो ६८ रुपैयाँ राखिएको छ । हुर्काउलो कुखुराका लागि ६ किलो (एल टु दाना), यसको सरदर मूल्य ६१ रुपैयाँ राखिएको छ । १९ हप्तादेखि ८० हप्तासम्मको अण्डा दिने समयका लागि ४८ किलो एलथ्री दाना एउटा कुखुराले खान्छ । जसको मूल्य ६०.५० पर्दछ । त्यस्तै औषधि र भेक्सिनको ११ लाख खर्च हुने उनले जानकारी दिए।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।