काठमाडौँ महोत्सव २०८२ भृकुटीमण्डपमा


काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आयोजना गर्न लागेको काठमाडौँ महोत्सव २०८२–काठमाडौँ बिजनेस एक्स्पो २०२६ आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा भव्य रूपमा हुने भएको छ।

काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटन पहिचानलाई थप सबल बनाउने उद्देश्यसहित आयोजनाको तयारी तीव्र पारिएको आयोजक संघले जानकारी दिएको छ। स्थानीय उत्पादन, कला–संस्कृति, पर्यटन, व्यवसाय र नवप्रवर्तनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो।

१ सयभन्दा बढी अत्याधुनिक व्यवसायिक स्टलसहितको महोत्सवमा स्थानीय उत्पादन र सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फूड–फेस्ट, कन्सर्ट, लाइभ–म्युजिक, कला–संस्कृतिका विविध प्रस्तुतिहरू, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, स्वास्थ्य शिविर तथा आकर्षक गतिविधि रहने छन्। आयोजकका अनुसार महोत्सवमा करिब १ लाखभन्दा बढी अवलोकनकर्ता आउने अनुमान गरिएको छ।

महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, व्यापारिक तथा लगानी अवसरको सिर्जना, व्यवसायिक नेटवर्किङको प्रवर्द्धन, स्टार्टअप तथा नयाँ उद्यमीलाई प्रेरणा र दृश्यता प्रदान गर्दै समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

उद्योग, व्यापार, कृषि, आईटी, फुड–बेभरेज, हस्तकला, अटोमोबाइल, इलेक्ट्रोनिक्स, रियल–स्टेट, बैंक तथा वित्तीय संस्था लगायतका क्षेत्रबाट व्यावसायिक सहभागिता हुने भएको छ। आयोजकले यस महोत्सवलाई बृहत् राष्ट्रिय व्यापारिक मञ्चका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार  ११ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।