काठमाडौँ। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको चौथो बन्दमुखी योजना “सिटिजन्स सन्तुलित योजना” सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भई इकाई निष्कासन गरिएको छ। १ अर्ब रुपैयाँ आकारको उक्त योजना अन्तर्गत पौष ४ गतेदेखि ८ गते (छिटोमा) बैंकिङ समयसम्म इकाई बिक्री खुला गरिएको छ।
म्युचुअल फण्डमा लगानी गर्दा साधारण बचतभन्दा बढी प्रतिफल प्राप्त गर्न सकिने सम्भावना रहने हुँदा यो योजना लगानीकर्ताका लागि आकर्षक मानिएको छ। योजनाले शेयर तथा डिबेन्चरमा लगानी गर्दै नाफा र जोखिमबीच सन्तुलन कायम गर्ने लक्ष्य लिएको छ। हाल नेप्से इन्डेक्स तल्लो तहमा रहेकाले दीर्घकालीन रूपमा राम्रो प्रतिफल आर्जन गर्न सकिने अपेक्षा गरिएको छ। योजनाको वित्तीय प्रक्षेपण अनुसार औसत वार्षिक प्रतिफल करिब १४ प्रतिशत रहने अनुमान गरिएको छ।
इकाई खरिदका लागि लगानीकर्ताले “मेरो शेयर” खातामार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। न्यूनतम १०० इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ। सिटिजन्स क्यापिटल लिमिटेडले व्यक्तिगत तथा संस्थागत लगानीकर्तालाई सक्दो सहभागिता जनाउन आग्रह गरेको छ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सेवामार्फत ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।












प्रतिक्रिया