काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड ६० लाख रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण शेयरको १ः०.६ अनुपातमा (अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.६ कित्ता साधारण शेयर) ४५ करोड ३६ लाख रुपैयाँ बराबरको ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्न लागेको हो।
यस सम्बन्धमा पौष ३ गते बिहीबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको बसुन्धारा, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सम्पन्न एक औपचारिक कार्यक्रमबीच नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो। सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागि कृषक र उपभोक्तालाई जोड्ने संस्थागत मूल्य श्रृंखला व्यवस्थापकको रूपमा कार्यरत अग्रणी कम्पनी हो। कम्पनीले कृषकका लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगको विकास तथा उपभोक्तालाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादन उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न व्यवसाय सञ्चालन गर्दै आइरहेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा निष्काशन एवं बिक्री प्रबन्धनका लागि अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो।












प्रतिक्रिया