डिजिटल-फर्स्ट रणनीतिमा सिटिजन्स बैंक, जेन–जी बचत खाताबाट नयाँ पुस्ता आकर्षित


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल फर्स्ट रणनीति अनुरूप सञ्चालनमा ल्याएको सिटिजन्स जेनजी बचत खाताप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ । डिजिटल युगअनुकूल वित्तीय सेवाको आवश्यकता पूरा गर्ने उद्देश्यसहित बैंकले जेनजी पुस्तालाई लक्षित गर्दै यो खाता सञ्चालनमा ल्याएको थियो।

सञ्चालनमा ल्याएको एक महिनामै यसले राम्रो लोकप्रियता पाएको बैंकले जनाएको छ । यो खाता बैंकले २०८२ मंसिर १ देखि सुरू गरेको थियो ।

विद्यार्थी, फ्रीलान्सर, कन्टेन्ट क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय पुस्तालाई केन्द्रमा राखेर ल्याइएको उक्त बचत खाताले नवयुवाहरूको ध्यान तानेको हो ।

बैंकका अनुसार, यो खाता सन् १९९७ देखि २०१२ बीच जन्मिएका जेन-जी पुस्ताका व्यक्तिहरूले मात्र खोल्न पाउने व्यवस्था गरिएको छ । न्यूनतम १०० रुपैयाँमै खाता खोल्न सकिने यस बचत खातामा वार्षिक ३.०१ प्रतिशत ब्याजदर प्रदान गरिन्छ ।

युवाग्राहकको कारोबारलाई सहज बनाउने उद्देश्यले चेकबुक, सी-आश्वा कमिसन, सी-आश्वा रेजिष्ट्रेशन तथा पहिलो वर्षका लागि डिम्याट खाता निःशुल्क उपलब्ध गराइएको छ । यसले युवाहरूको ध्यान तान्न सहज भएको बैंकको बुझाइ छ।

बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई-कम कार्ड र इन्टरनेट बैंकिङ यी चारै सेवा एकैपटक लिएमा केवल ५०० रुपैयाँमै उपलब्ध हुने विशेष बन्डल्ड अफर यस खातामा समावेश गरेको छ। यसले युवा ग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल बैंकिङ सुविधाको पहुँच प्रदान गरेको छ ।

यसैगरी, यस खाताबाहकलाई ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट तथा पहिलो मोबाइल टप-अपमा २५ प्रतिशत क्यासब्याकको सुविधा समेत उपलब्ध गराएको छ ।

रेफरल रिवार्डअन्तर्गत प्रत्येक खातामा २०० रुपैयाँ, जसका लागि रेफर गर्ने र रेफर हुने दुवैले खाता खोलेको हुनुपर्नेछ । साथै कम्तीमा एक डिजिटल सेवामा आबद्ध भई एक डिजिटल कारोबार सम्पन्न गर्नुपर्नेछ । यस्तो रिवार्ड मोबाइल बैंकिङमार्फत प्रदान गरिनेछ ।

नवीन डिजिटल सेवामा अग्रणी सिटिजन्स बैंक

यस खातामार्फत बैंकले ग्राहकलाई सहजीकरण मात्र गरेको छैन सामाजिक उत्तरदायित्व समेत कायम गरेको छ। बैंकले जेनजी आन्दोलनका शहीद परिवारका लागि सीप विकास तालिम तथा अनुदान प्रदान गर्न प्रत्येक खाता बापत २५० रुपैयाँ योगदान गरिने बताइएको छ।

नवीन डिजिटल सेवामा सिटिजन्स बैंक अग्रणी बन्दै गएको छ। यसअघि पनि बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याइसकेको छ । साथै, फ्रीलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ पनि सुरु गरिसकेको बैंकले जनाएको छ ।

बैंकले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन् नम्बर सेवा, साथै क्रस बैंक टेलर सेवा समेत सुरु गरेको छ, जसअन्तर्गत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था छ ।

‘वित्तीय साक्षरता प्रवर्द्धन गर्दै युवाको जीवनशैली र मूल्यसँग मेल खाने सेवा प्रदान गर्ने प्रयास समेत हो यो,’ बैंकका डिपोजिट मार्केटिङका प्रमुख पारस विक्रम थापाले भने ।

जेन-जी बचत खाताको विकासले डिजिटल रूपमा सचेत र सामाजिक उत्तरदायित्वप्रति जागरूक पुस्ताको विशिष्ट वित्तीय आवश्यकता र प्राथमिकतालाई सम्बोधन गर्दै बैंक–ग्राहक सम्बन्धलाई अझ सुदृढ बनाउने उनको विश्वास छ । यस पहलले डिजिटल सेवाको प्रयोग बढाएर सञ्चालन लागत घटाउनुका साथै भविष्यमा बढी मुनाफा दिने उत्पादनहरूमा ग्राहकलाई आबद्ध गराउने नयाँ अवसर सिर्जना गर्ने थापाले बताए ।

यस बचत खाता सञ्चालनले बैंकलाई डिजिटल प्रविधिमा दक्ष नयाँ पुस्तासँग प्रारम्भिक चरणमै दीर्घकालीन सम्बन्ध स्थापित गर्ने अवसर प्रदान गरेको उनले बताए । ‘यस पहलले दीर्घकालीन ग्राहक निष्ठा बढाउनुका साथै उच्च मुनाफा दिने वित्तीय उत्पादनहरूको क्रस–सेलिङलाई सहज बनाउँछ,’ उनले भने,’मोबाइल बैंकिङमार्फत सञ्चालन लागत घटाउँदै कार्यक्षमता वृद्धि गर्न सहयोग पुर्‍याउँछ ।’

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार  १० : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।