नेपाल टेलिकमको एफटीटीएच सेवामा वाइफाई ६ प्रविधि


काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमार्फत उपलब्ध गराउँदै आएको इन्टरनेट सेवालाई अझ गुणस्तरीय बनाउन वाइफाई ६ प्रविधिको राउटर (सीपीई) तथा एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको छ। यससँगै अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट सेवा वितरण गरिनेछ।

यसअघि वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले अब वाइफाई ६ प्रविधिको सीपीईसँगै पहिलो पटक एपी पनि उपलब्ध गराउने जनाएको छ। नयाँ प्रविधिका उपकरण प्रयोग गर्दा वाइफाई सिग्नल कमजोर हुने समस्या न्यून हुँदै जाने, इन्टरनेटको गति तीव्र हुने तथा एकै पटक धेरै डिभाइस कनेक्ट गर्दा पनि समान रूपमा उच्च स्पिड प्राप्त हुने कम्पनीको विश्वास छ। साथै, डाटा ट्रान्सफर छिटो हुने, डिभाइसको ब्याट्री लाइफ सुधार हुने तथा सुरक्षित र भरपर्दो इन्टरनेट सेवा सुनिश्चित हुने बताइएको छ।

ग्राहकहरूका लागि वाइफाई ६ अन्तर्गत इन्डिभिजुअल र प्रिमियम प्याकेज उपलब्ध गराइनेछ। इन्डिभिजुअल प्याकेजमा इन्टरनेट, टेलिफोन तथा एनटीटीभी समावेश विकल्पहरू रहनेछन् भने प्रिमियम प्याकेजमा उच्च गतिको इन्टरनेटसँगै बेसिक तथा प्रिमियम एनटीटीभीका विकल्पहरू समेटिएका छन्। यी प्याकेजहरू १००, १५० र २०० एमबीपीएस क्षमतामा उपलब्ध हुनेछन्।

वाइफाई ६ सीपीई, एपी, एफटीटीएच सेवा तथा नयाँ दररेटसम्बन्धी थप जानकारी नेपाल टेलिकमको वेबसाइट, ‘नेपाल टेलिकम’ एप, १९८ मा कल गरेर वा नजिकको नेपाल टेलिकम कार्यालयबाट लिन सकिनेछ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार  १३ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।