पाँच महिनाको वैदेशिक व्यापारको अवस्था : १४८ मध्ये ३४ सँग मात्रै नाफा


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (साउन–मंसिर) को अवधिमा नेपालले कुल १४८ देशसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये ११४ देशसँगको व्यापारमा नेपालले घाटा व्यहोरेको छ भने ३४ मुलुकसँग मात्र नाफाको व्यापार गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षमा निर्यात व्यापार आधाभन्दा बढीले बढे पनि व्यापार घाटामा कमी आउन सकेको छैन । समिक्षा अवधिमा मुलुकले ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । जुन गत आव २०८१/८२ को सोहि अवधीको तुलनामा १० प्रतिशतले बढी हो । गत आवको यहि अवधिमा मुलुकले ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ वैदेशिक व्यापारमा घाटा बेहोर्नुपरेको थियो ।

३४ मुलुकसँगको व्यापार नाफामा

नेपालले चालु आवको पाँच महिनामा डेनमार्क, रोमानिया, स्वीडेन, नाइजर, इराक, अमेरिकन सामोया, आइसल्यान्ड, सेशेल्सलगायत ३४ मुलुकसँगको व्यापारमा नाफा कमाएको छ ।

नेपालले सबैभन्दा धेरै नाफा डेनमार्कसँगको व्यापारमा गरेको छ । पाँच महिनामा डेनमार्कसँगको व्यापारमा नेपाललाई ३८ करोड ३५ लाख रुपैयाँ नाफा भएको छ । यो अवधिमा ४५ करोड ३३ लाख रुपैयाँको वस्तु तथा सेवा डेनमार्क निर्यात हुँदा ६ करोड ९७ लाख रुपैयाँको मात्र आयात भएको छ ।

दोस्रो स्थानमा रहेको रोमनियासँगको व्यापारमा ६ करोड ३४ लाख रुपैयाँ नाफा भएको विभागले जनाएको छ । रोमनियातर्फ ८ करोड १२ लाख रुपैयाँको सामान निर्यात गर्दा १ करोड ७८ लाख रुपैयाँको मात्र सामान आयात भएको छ ।

त्यसैगरी, स्वीडेनसँगको व्यापारमा ४ करोड ६५ लाख रुपैयाँ नाफा भएको छ भने, नाइजरसँग १ करोड ७३ लाख रुपैयाँ, इराकसँग एक करोड ७१ लख रुपैयाँ, अमेरिकन सामोयासँग एक करोड ३७ लाख रुपैयाँ, आइसल्यान्डसँग १ करोड २५ लाख रुपैयाँ र सेशेल्ससँग एक करोड ११ लाख रुपैयाँ नाफा गरेको छ ।

पाँच महिनामा नेपालले ८ मुलुकसँग करोडभन्दा बढीको नाफा गरेको छ । अन्य मुलुकसँग भने नेपालको नाफा सामान्य छ । सबैभन्दा कम नाफा पपुवा न्यू गिनीसँग एक लाख ३ हजार रुपैयाँ मात्र छ ।

भारतसँग उच्च व्यापार घाटा

विभागको तथ्यांकअनुसार नेपालको सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग छ । पाँच महिनाको अवधीमा नेपालले भारतसँग मात्रै ३ खर्ब ३९ अर्ब २ करोड २१ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ । सो अवधीमा भारतबाट कुल ४ खर्ब ३४ अर्ब ६ करोड ४२ लाख रुपैयाँको सामान आयात गरेकोमा ९५ अर्ब ४ करोड २० लाख रुपैयाँको मात्र निर्यात गरेको छ ।

नेपालको व्यापार घाटा उच्च हुने मुलुकको सुचीमा चीन दोस्रो तथा अर्जेन्टिना तेस्रो स्थानमा छन् । चीनसँगको व्यापारमा १ खर्ब ६३ अर्ब २६ करोड ८० लाख रुपैयाँ घाटा भएको छ । यो अवधिमा चीनबाट १ खर्ब ६३ अर्ब ७३ करोड ४८ लाख रुपैयाँको आयात भएकोमा चीनतर्फ ४६ करोड ६८ लाख रुपैयाँको मात्र निर्यात भएको छ । अर्जेन्टिनासँगको व्यापारमा नेपालले ४४ अर्ब ५६ करोड ४ लाख रुपैयाँ घाटा बेहोरेको छ । सो अवधीमा अर्जेन्टिनाबाट ४४ अर्ब ५६ करोड १२ लाख रुपैयाँको सामान आयात हुँदा निर्यात भने ८ लाख ८९ हजार रुपैयाँको मात्र भएको हो ।

त्यसैगरी, यूएईसँग २२ अर्ब ६० करोड ९८ लाख रुपैयाँ, इन्डोनेसियासँग ७ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ, थाइल्यान्डसँग ७ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ र ब्राजिलसँग ४ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

२८ देशबाट आयात मात्रै, ९ देशमा निर्यात मात्र

विभागको तथ्यांक अनुसार व्यापार साझेदार देशमध्ये २८ देशमा नेपालको निर्यात ‘शून्य’ रहेको छ । पाराग्वेबाट एक अर्ब ४७ करोड ८८ लाख रुपैयाँ, मोल्डोभाबाट १६ करोड ५२ लाख रुपैयाँ, डोमिनिकबाट ५ करोड ८९ लाख रुपैयाँ, कोट डिआइबरबाट ४ करोड ४ लाख रुपैयाँ र मेडागास्करबाट ३ करोड ६९ लाख रुपैयाँको आयात भएको छ । ती मुलुकहरुबाट करोडौँको वस्तु आयात हुँदा निर्यात भने शून्य रहेको छ । जसले गर्दा नेपालको व्यापार घाटामा वृद्धि भएको छ ।

यस्तै, नेपाली वस्तुहरू निर्यात भएका नौ देशबाट भने कुनै पनि वस्तु आयात भएको छैन । जसमा फीजितर्फ १९ लाख ९२ हजार रुपैयाँको वस्तु तथा सामान निर्यात भएको छ ।

अर्काेतर्फ ९ वटा देशमा भने नेपालबाट निर्यात मात्र भएको छ, त्यहाँबाट कुनै पनि वस्तुको आयात भएको छैन । केम्यानमा ८४ लाख, बहमासमा ८ लाख, बर्बाडोसमा ६ लाख, टक्र्समा ६ लाख, किर्गिजस्तानमा ५ लाख, सिरीयाली अरबमा ३ लाख, पानामा ३ लाख र सोमलीयामा १ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । जसले केहि मात्रामा भएपनि व्यापार घाटा कम गरेको छ ।

 

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार  ०८ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।