लाभांश घोषणा गरेका १३ वटा वाणिज्य बैंकमध्ये कुन दिन्छन् बढी


काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ का लागि हालसम्म १३ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा प्राइम कमर्सियल बैंक, नबिल बैंक, एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।

जसमध्ये सिद्धार्थ बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशतले हुन आउने १ अर्ब ४ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

जसमा ५ प्रतिशतले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बराबरको बोनस शेयर र ५.५३ प्रतिशतले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) छन् । साधारण सभा सम्पन्न गरिसकेको छ ।

ग्लोबल आइएमई बैंकले चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गरिसकेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले साधारणसभा सम्पन्न गरिसकेको छ ।

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ७.३६८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले बोनस शेयर नदिई नगदमात्रै दिने निर्णय गरेको छ । सभा सम्पन्न गरिसकेको छ ।

एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले ६ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साधारण सभा सम्पन्न गरिसकेको छ ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले ४ प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले साधारणसभा समेत सम्पन्न गरिसकेको छ ।

लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा बैंकले १० प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १ गते बुक क्लोज गरिसकेको छ ।

कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये ३.२५ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजन सहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले मंसिर २९ गते सभा सम्पन्न गरिसकेको छ ।

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले ४ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ४ गते बुक क्लोज गरिसकेको छ । बैंकले पुस १८ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बत्तीसौँ वार्षिक साधारण सभा बोलाएको छ ।

एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये बैंकले ५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले पुस ९ गते बुक क्लोज गरिसकेको छ ।

प्राइम कमर्सियल बैंकले हाल कायम चुक्तापुँजीको कुल ८.४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन् । लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन् ।

नबिल बैंकले हाल कायम चुक्तापुँजीको १२.५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन् ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार  १२ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।