पाँच महिनामा ३८ प्रतिशतले घट्यो सेयर कारोबार रकम


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा सेयर बजारमा कारोबार रकममा उल्लेख्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जको पछिल्लो क्युमुलेटिभ समरी रिपोर्ट अनुसार गत आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको तुलनामा समग्र कारोबार रकममा ३८.६१ प्रतिशतले गिरावट आएको हो ।

तथ्यांक अनुसार गत आर्थिक वर्षको समीक्षा अवधिमा १० खर्ब १९ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यो रकम घटेर ६ खर्ब २६ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ ।

समूहगत आधारमा हेर्दा अधिकांश समूहको कारोबारमा गिरावट आएको छ । वित्त समूहको कारोबारमा सबैभन्दा बढी ८६.५२ अंकको गिरावट आएको छ । गत आर्थिक वर्षको तुलना अवधिमा १ खर्ब २१ अर्ब ८१ करोड ८५ लाख रुपैयाँका १५ करोड ३ लाख ५३ हजार कित्ता सेयर कारोबार भएकोमा चालु आर्थिक वर्षमा १६ अर्ब ४२ करोड २३ लाख रुपैयाँको २ करोड ९२ लाख ७४ हजार कित्ता सेयर कारोबार भएको छ ।
चालु आवमा निर्जीवन बीमा समूहको कारोबार रकममा ७०.३१ प्रतिशतले गिरावट आएको छ । गत आवमा निर्जीवन बीमा समूहका ५ करोड ३२ लाख ७० हजार कित्ता सेयर ४६ अर्ब ५६ करोड ७५ लाख रुपैयाँको कारोबार भएकोमा चालु आवमा १ करोड ९१ लाख १० हजार कित्ता सेयरहरु १३ अर्ब ८२ करोड ६७ लाख रुपैयाँमा किनबेच भएका छन् ।

यस्तै व्यापार समूहको कारोबार रकममा ६९.९३ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षमा ६ लाख ४९ हजार कित्ता सेयरहरु ३ अर्ब ८४ करोड ४१ लाख रुपैयाँमा कारोबार भएकोमा चालु आर्थिक वर्षमा २ लाख १८ हजार कित्ता सेयरहरु १ अर्ब १५ करोड ५९ लाख रुपैयाँमा किनबेच भएका छन् ।

गत आवमा ५७ अर्ब १२ करोड १५ लाख रुपैयाँको कारोबार भएको जीवन बीमा समूहको कारोबारमा चालु आवमा ५२.७९ प्रतिशतले गिरावट आएको छ । चालु आवमा जीवन बीमा समूहको २६ अर्ब ९६ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

वाणिज्य बैंक समूहको कारोबार रकम ५२.१८ प्रतिशतले ओरालो लागेको छ । गत आवमा १ खर्ब १६ अर्ब ८५ करोड २८ लाख रुपैयाँको कारोबार भएकोमा चालु आर्थिक वर्षमा ५५ अर्ब ८८ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै गत आवमा ६८ अर्ब ५८ करोड ८१ लाख रुपैयाँमा ११ करोड ४१ लाख ५५ हजार कित्ता सेयर कारोबार भएको लगानी समूहको कारोबार रकममा चालु आवमा ४४.४४ प्रतिशतले गिरावट आएको छ । चालु आवमा उक्त समूहका ५ करोड ३२ लाख ७३ हजार कित्ता सेयरहरु ३८ अर्ब १० करोड ५९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

गत आर्थिक वर्षमा २२ अर्ब ८१ करोड ६२ लाख रुपैयाँका २ करोड ८६ लाख ५० हजार कित्ता सेयर कारोबार भएको होटल तथा पर्यटन समूहको कारोबार रकममा ४२.२२ प्रतिशतले गिरावट आउँदा चालु आर्थिक वर्षमा १३ अर्ब १८ करोड ३७ लाख रुपैयाँमा १ करोड ७० लाख ४५ हजार कित्ता सेयर कारोबार भएका छन् ।

यस्तै चालु आर्थिक वर्षमा विकास बैंकका समूहको कारोबार रकम ३६.६३ प्रतिशतले ओरालो लागेको छ । गत आवमा ७६ अर्ब ६३ करोड रुपैयाँमा १४ करोड ३४ लाख २० हजार कित्ता सेयर कारोबार गरेकोमा चालु आवमा भने ४८ अर्ब ५६ करोड २६ लाख रुपैयाँका ८ करोड ८५ लाख ३३ हजार कित्ता सेयर कारोबार गरेको छ ।

यसैगरि लघुवित्त समूहको कारोबारमा २५.४७ प्रतिशत, जलविद्युत समूहको कारोबार रकममा २६.६४ प्रतिशत, म्याचुअलफण्ड समूहको कारोबारमा २४.०४ प्रतिशतले गिरावट आएको छ ।

यध्पि केहि समूहको कारोबारमा भने सुधार देखिएको छ । ऋणपत्रको कारोबारमा ९४.३१ प्रतिशतले उछाल आएको छ भने अन्य समूहको कारोबारमा २०.३८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको कारोबारमा २.०३ प्रतिशतले वृद्धि भएको छ ।

बजार पूँजीकरणमा पनि असर

चालु आर्थिक वर्षमा कारोबारमा आएको गिरावटसँगै कुल बजार पूँजीकरण पनि गिरावट आएको छ । चालु आवमा बजार पूँजीकरण १.८२ प्रतिशतले घटेर ४३ खर्ब ६८ अर्ब १६ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । जबकी गत आर्थिक वर्षको तुलना अवधिमा बजार पूँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड ३६ लाख रुपैयाँ कायम भएको थियो ।

मंसिरमा भने २७ प्रतिशतले भयो सुधार

यता चालु आर्थिक वर्षको मंसिर महिनामा भने कारोबार रकममा वृद्धि आएको छ । चालु आवको कात्तिक महिनामा भन्दा मंसिरमा कारोबार रकममा २७.२४ प्रतिशतले सुधार आएको छ । कात्तिकमा ७७ अर्ब ७९ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएकोमा मंसिरमा ९८ अर्ब ९८ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यो अवधिमा सबैभन्दा बढी जीवन बीमा समूहको कारोबार रकम १०९.१२ प्रतिशतले बढेको छ । यस्तै होटल तथा पर्यटन समूहको कारोबार रकम ७९.५४ प्रतिशतले बढ्दा व्यापार समूहको कारोबार रकम ५३.३० प्रतिशतले, विकास बैंक समूहको कारोबार रकम ४०.५८ प्रतिशतले, लघुवित्त समूहको कारोबार रकम ४०.०९ प्रतिशतले र जलविद्युत समूहको कारोबार रकम ३५.८५ प्रतिशतले बढेको छ ।

मंसिरमा सबै समूहको कारोबार रकममा सुधार आउँदा वित्त समूहको कारोबार रकम ३३.२४ प्रतिशत, वाणिज्य बैंक समूहको कारोबार रकम ३२.२७ प्रतिशत, निर्जीवन बीमा समूहको कारोबार रकम ३०.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको कारोबार रकम २९.७८ प्रतिशत, अन्य समूहको कारोबार रकम १९.५७ प्रतिशतले र लगानी समूहको कारोबार रकम ४.९६ प्रतिशतले बढेको छ ।

समूहगत बजार पूँजीकरणको अवस्था

चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरुको कुल बजार पूँजीकरण १० खर्ब ४१ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । यस समूहमा नबिल बैंक १ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ बराबरको बजार पूँजीकरण सहित शीर्षस्थानमा रहेको छ । त्यसैगरी एभरेष्ट बैंक ८८ अर्ब ६६ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंक ८६ अर्ब ४० करोड रुपैयाँ बराबरको बजार पूँजीकरण सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

विकास बैंकहरुको कुल बजार पूँजीकरण १ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ बराबर कायम भएको छ । यस समूहमा मुक्तिनाथ विकास बैंक २७ अर्ब ५९ करोड रुपैयाँ बराबरको पूँजीकरण सहित शीर्षस्थानमा रहेको छ । गरिमा विकास बैंक २२ अर्ब ७६ करोड रुपैयाँ र साइन रेसुङ्गा विकास बैंक १९ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बराबरको बजार पूँजीकरण सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छन् ।

जलविद्युत समूहको कुल बजार पूँजीकरण ६ खर्ब ६५ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ । यस समूहमा अपि पावर बरुण हाइड्रोपावर लगायतको बजार पूँजीकरण उच्च रहेको छ ।

लगानी समूहको बजार पूँजीकरण ३ खर्ब २२ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । यस समूहमा सिटिजन इन्भेष्टमेन्ट र हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्टको बजार पूँजीकरण उच्च रहेको छ ।

यस्तै जीवन बीमा समूह कुल बजार पूँजीकरण ४ खर्ब ४ अर्ब ६२ करोड रुपैयाँ  कायम भएको छ । यस समूहमा हिमालयन लाइफइन्स्योरेन्स, नेशनल लाइफ र नेपाल लाइफ कम्पनीको बजार पूँजीकरण उच्च रहेको छ ।

उत्पादन तथा प्रशोधन समूहको बजार पूँजीकरण २ खर्ब ८४ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ । हिमालयन डिष्टिलरी, सर्वाेत्तम सिमेन्ट र शिवम् सिमेन्टको बजार पूँजीकरण उच्च रहेको छ ।

व्यापार समूहको कूल बजार पूँजीकरण २ खर्ब १२ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ । यो समूहमा विशाल बजार कम्पनीको बजार पूँजीकरण उच्च रहेको छ ।

लुघवित्त समूहको बजार पूँजीकरण ३ खर्ब ७० अर्ब १० करोड रुपैयाँ कायम भएको छ । यस समूहमा छिमेक लघुवित्त, साना किसान लघुवित्तको बजार पूँजीकरण उच्च रहेको छ ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार  १४ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।