धितोपत्र कारोबारलाई बैंक र शेयर खातामा इन्टिग्रेशन गरिने, T+2 कडाईका साथ लागू गर्न निर्देशन

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोवारलाई बैंक तथा निक्षेप सदस्यसँग इन्टिग्रेशन गर्ने निर्णय गरेको छ ।

बोर्डले लगानीकर्ताको धितोपत्र कारोवार खाता, मार्जिन खाता तथा क्लियरिङ्ग खाताका सम्बन्धमा उचित व्यवस्थापन निकट भविष्यमा नै गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको प्रवक्ता निरज गिरीले जानकारी दिए ।

उनले बैंक खाता र शेयर खाता इन्टिग्रेशनको कार्य अगाडि बढाउने प्रक्रियाको लागि बोर्डबाट निर्देशन भइसकेको जानकारी दिए । यो व्यवस्था कार्यान्वयनमा आएपश्चात् धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट थप प्रभावकारी भई धितोपत्र कारोवार अझै लगानीकर्तामैत्री हुने बोर्डको विश्वास छ ।

साथै बोर्डले हल्लाको पछि नलागी सूचिकृत संगठित संस्थाको आधारभूत तथा प्राविधिक पक्षको अध्ययन गरी विद्यमान व्यवस्था अनुरुप नै लगानी गर्न आग्रह समेत गरेको छ ।

त्यस्तै बोर्डले धितोपत्र दलाल व्यवसायीले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तिमा पच्चीस प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट नगदै अग्रीम रुपमा लिनुपर्ने व्यवस्था गरिएको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचार र यसबाट लगानीकर्तामा द्विविधा सिर्जना भएको विषयमा बोर्डको ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले मिति गत माघ १४ गतेदेखि सम्पूर्ण धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट चक्र T+2 मा हुनुपर्ने व्यवस्था लागू भइसकेकोमा कतिपय धितोपत्र दलाल व्यवसायीहरुले सोको पालना नगरेको भनी लगानीकर्ताबाट गुनासो प्राप्त भएको बताएको छ ।

लगानीकर्ताको गुनासो आएपछि धितोपत्र कारोवार साफसाफ तथा फछ्र्यौैट T+2 मा गर्न र सोही अनुसार समयमा नै धितोपत्र तथा रकम सम्बन्धित लगानीकर्ताले पाउने व्यवस्था कडाईका साथ पालना गर्न परिपत्र जारी गरेको बोर्डले प्रष्ट पारेको छ ।

धितोपत्र दलाल व्यवसायीले समयमा नै लगानीकर्तालाई रकम भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले यसअघि नै व्यवस्था गरिएको धितोपत्र कारोवार संचालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम धितोपत्र विक्री गर्ने लगानीकर्तासँग मार्जिन रकम वा चेक लिनसक्ने जानकारी गराएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।