किन घट्दै छ मुद्दती निक्षेपको हिस्सा ?


काठमाडौँ । पछिल्ला महिनाहरूमा बैंकिङ प्रणालीमा मुद्दती निक्षेपको हिस्सा उल्लेखनीय रूपमा घट्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ असारमा कुल निक्षेपको ५६.४ प्रतिशत हिस्सा ओगटेको मुद्दती निक्षेप २०८२ कात्तिकसम्म आइपुग्दा घटेर ४५.६ प्रतिशतमा सीमित भएको छ । यस गिरावटको मुख्य कारण बैंकहरूले मुद्दती खातामा दिने ब्याजदर निरन्तर घटाउँदै जानु हो ।

विगतमा दोहोरो अंकमा रहेको मुद्दती निक्षेपको ब्याजदर पछिल्ला वर्षहरूमा क्रमशः घटाइएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहँदा उच्च ब्याजदरको आवश्यकता नपरेको भन्दै बैंकहरूले मुद्दतीभन्दा साधारण बचत खातातर्फ निक्षेपकर्तालाई आकर्षित गर्ने रणनीति लिएका छन् । बैंकरहरूका अनुसार पर्याप्त तरलताको अवस्थामै ब्याजदर घटाएर निक्षेप संरचना परिवर्तन गर्ने प्रयास भइरहेको छ, जसको प्रत्यक्ष असर मुद्दती निक्षेपको हिस्सामा देखिएको हो ।

ब्याजदर घट्दै जाँदा बचतकर्ताहरूले मुद्दती खाताबाट रकम झिकेर अन्य लगानीका विकल्पतर्फ ध्यान दिन थालेका छन् । विशेषगरी पछिल्लो समय सेयर बजारमा कर्जा लगानी सहज बन्दै गएपछि मुद्दती निक्षेपभन्दा सेयर बजारमा लगानी गर्दा प्रतिफलको सम्भावना बढी देखिएको बुझाइ लगानीकर्तामा बढेको छ । यससँगै अन्य वैकल्पिक लगानी उपकरणतर्फ पनि बचतकर्ताको आकर्षण बढेको देखिन्छ ।

मुद्दती निक्षेप निश्चित समय अवधि तोकेर राखिने र तोकिएको समय पूरा नभएसम्म रकम झिक्न नपाइने प्रकृतिको हुन्छ । ब्याजदर तुलनात्मक रूपमा उच्च भए पनि लचकता कम हुने भएकाले अहिलेको अनिश्चित आर्थिक परिवेशमा निक्षेपकर्ताहरू छोटो अवधिका वा सजिलै झिक्न सकिने खातातर्फ आकर्षित हुन थालेका छन् । यही कारण पछिल्लो समय मुद्दती निक्षेपको अनुपात घटेको विश्लेषण गरिएको छ ।

यद्यपि, मुद्दती निक्षेप लामो समयसम्म घटिरहेमा बैंकहरूको स्थायित्व र कर्जा व्यवस्थापनमा चुनौती आउन सक्ने भए पनि वर्तमान अवस्थामा यसलाई गम्भीर संकटको संकेत मान्न नहुने विज्ञहरूको भनाइ छ । लगानीका ठूला अवसरहरू तत्काल उपलब्ध नरहेको अवस्थामा मुद्दती खाताबाट रकम बाहिरिँदा बैंकिङ प्रणालीमा तत्काल समस्या नआउने उनीहरूको ठहर छ ।

राष्ट्र बैंकका अनुसार २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३५.५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३५.८ प्रतिशत थियो । यसले संस्थागत निक्षेप पनि घट्दो क्रममा रहेको संकेत गर्छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेकाले निकट भविष्यमा ब्याजदर बढ्ने अवस्था नरहेको बैंकरहरूको भनाइ छ । व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताले एक वर्षभन्दा बढी अवधिका लागि मुद्दती खातामा रकम राख्न अनिच्छा देखाइरहेका छन् । हाल संस्थागत निक्षेपकर्ताहरू मुख्यतः एक वर्षसम्मका लागि मात्र मुद्दती निक्षेपमा रकम राख्ने प्रवृत्तिमा रहेको बैंकरहरूको बुझाइ छ ।

समग्रमा, ब्याजदर घट्नु, लगानीका वैकल्पिक क्षेत्रको आकर्षण बढ्नु र निक्षेपकर्ताको लचकताप्रतिको चाहनाले गर्दा पछिल्लो समय मुद्दती निक्षेपको हिस्सा घट्दै गएको देखिन्छ । पछिल्लो समय बैंकरहरू नै मुद्दती निक्षेपका लागि अनिच्छुक रहेको निक्षेपकर्ताहरूको गुनासो छ ।

वित्तीय प्रणालीमा लामो समयदेखि कायम रहेको अधिक तरलता अझै पनि घट्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरू निक्षेपप्रति उदासीन बन्दै गएका छन् । औपचारिक रूपमा ‘निक्षेप नलिने’ घोषणा नगरे पनि उनीहरूले निक्षेपमा अत्यन्तै न्यून ब्याजदर निर्धारण गर्ने, तथा संस्थागत निक्षेपका हकमा बोलकबोल प्रक्रिया नै स्थगित गर्ने अभ्यास अपनाउन थालेका छन् । पछिल्ला करिब तीन वर्षदेखि बैंकिङ प्रणालीमा आवश्यकता भन्दा बढी तरलता थुप्रिएको अवस्था छ । कर्जा विस्तार अपेक्षित रूपमा हुन नसक्दा बैंकहरूसँग खर्बौं रुपैयाँ ऋण दिन सक्ने क्षमता निष्क्रिय अवस्थामा बसेको छ । यही कारण बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका छन् । तर ब्याजदर न्यून भए पनि बैंकहरू थप निक्षेप संकलन गर्न इच्छुक देखिएका छैनन् । वित्तीय प्रणालीमा लामो समयदेखि कायम रहेको अधिक तरलता अझै पनि घट्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरू निक्षेपप्रति उदासीन बन्दै गएका छन् । औपचारिक रूपमा ‘निक्षेप नलिने’ घोषणा नगरे पनि उनीहरूले निक्षेपमा अत्यन्तै न्यून ब्याजदर निर्धारण गर्ने, तथा संस्थागत निक्षेपका हकमा बोलकबोल प्रक्रिया नै स्थगित गर्ने अभ्यास अपनाउन थालेका छन् ।

पछिल्ला करिब तीन वर्षदेखि बैंकिङ प्रणालीमा आवश्यकता भन्दा बढी तरलता थुप्रिएको अवस्था छ । कर्जा विस्तार अपेक्षित रूपमा हुन नसक्दा बैंकहरूसँग खर्बौं रुपैयाँ ऋण दिन सक्ने क्षमता निष्क्रिय अवस्थामा बसेको छ । यही कारण बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका छन् । तर ब्याजदर न्यून भए पनि बैंकहरू थप निक्षेप संकलन गर्न इच्छुक देखिएका छैनन् । यस अवस्थाको प्रत्यक्ष असर व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका बचतकर्तामा पर्न थालेको छ ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।